
गान्तोक, 12 मई (हि.स.)। सिक्किमकी उदीयमान फिल्म निर्माता त्रिवेणी राईद्वारा निर्देशित प्रसिद्ध नेपाली कथानक चलचित्र 'सेप अफ मोमो' को आगामी 29 मई, 2026 का दिन भारत र नेपाल रिलिज हुने भएको छ। देश-विदेशका विभिन्न फिल्म फेस्टिभलहरूमा आफ्नो उल्लेखनीय छाप छोड्न सफल फिल्म 'सेप अफ मोमो' को तृष्णा अब सिक्किमकै दर्शकहरूले पनि मेट्न पाउने छन्।
राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा फिल्मकी निर्देशक त्रिवेणी राईले उक्त जानकारी दिइन्। उनले आफ्नी सेवानिवृत्त शिक्षिका आमाको सहयोगमा फिल्म निर्माण गरेको, तर फिल्म तयार भएपछि प्रमोशन र पोस्ट प्रडक्सनका लागि बजेटको अभाव झेल्नु परेको अनुभव साझा गरिन्। उनले यस्तो समयमा मुख्यमन्त्री प्रेमसिंह तामाङबाट सहयोग पाएपछि पोस्ट प्रडक्सनको काम पूरा भएको उल्लेख गर्दै मुख्यमन्त्रीप्रति आभार प्रकट गरिन्। यसैगरी, अहिलेसम्म राज्यको मिडियाबाट प्राप्त उल्लेखनीय समर्थनको निम्ति पनि उनले कृतज्ञता प्रकट गरिन्।
यो फिल्मले देश-विदेशका विभिन्न फिल्म फेस्टिभलहरूमा प्रशंसा बटुल्न सफल बनेकोमा खुशी प्रकट गर्दै निर्देशक राईले भनिन्, 'यो फिल्म हामीले बनाएको भए पनि अहिले यो फिल्म सबैको भइसकेको छ।' यस फिल्मले राज्य अनि देश बाहिर धेरै पुरस्कारहरू जित्न सफल बने तापनि घर-आंगनमा पाइने मायाको ठूलो महत्व रहने बताउॅंदै सबैलाई यो फिल्म हेरिदिन अनुरोध पनि गरिन्।
उनले 'सेप अफ मोमो' को भारतलगायत नेपाल रिलिज आगामी 29 मईका दिन हुने जानकारी गराउॅंदै पहिले देशका मेट्रो शहरहरूमा प्रदर्शित गर्ने योजना रहेको अवगत गराइन्। उनले सिक्किम लगायत नेपाली दर्शकहरूलाई ध्यानमा राख्दै दार्जिलिङ, असम, बेङलोर आदि ठाउॅंहरूमा पनि फिल्म प्रदर्शन गरिने बताइन्। उनले फिल्मको रिलिजअघि सिक्किममा प्रीमियर शो आयोजना गरिने पनि जानकारी गराइन्।
यस अघि फिल्मका कलाकारद्वय श्यामाश्री शेर्पा र वाङ्देन शेर्पाले आफ्ना अनुभवहरू साझा गर्दै फिल्मको हिस्सा हुन पाएकोमा खुशी व्यक्त गरे। यसैगरी, फिल्मकी निर्माता एवं निर्देशक राईकी आमाले नयॉं पुस्तालाई ध्यानमा राखेर फिल्म निर्माण गरिएको बताइन्। उनले राज्यवासीहरूलाई फिल्म हेरिदिएर समर्थन गरिदिन अनुरोध पनि गरिन्।
हिन्दुस्थान समाचार / बिशाल