सिक्किम कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
सिक्किम कलाकार भरोसा सम्मेलन


गान्तोक, 12 मई (हि.स.)। सिक्किम कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण आगामी 14 र 15 मई, 2026 का दिन राजधानीमा आयोजना हुने भएको छ। पहिलो दिन विभिन्न विषयमा स्रोत व्यक्तिहरूद्वारा मास्टर क्लास सञ्चालन गरिने छन् भने दोस्रो दिन मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिने छ। यस दिन बलीवुडका प्रसिद्ध अभिनेता सोनु सुदको प्रेरक भाषण मुख्य आकर्षण रहनेछ।

सिक्किम कला, संस्कृति एवं धरोहर विकास बोर्डका अध्यक्ष सञ्जय दिलपाली राईले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। उनले भने, 'सिक्किम कलाकार भरोसा सम्मेलन पहिलो पटक 2024 मा आयोजना गरिएको थियो। त्यस समय धेरैले कार्यक्रमलाई चुनावी स्टन्टको लाण्क्षणा पनि लगाएका थिए। तर, चुनाउपछि मुख्यमन्त्रीको मार्गदर्शनमा नाम्चीमा भव्य रूपमा दोस्रो कलाकार भरोसा सम्मेलन आयोजना गरियो। 2026 देखि यो कार्यक्रम पूर्ण रूपमा एक सरकारी कार्यक्रमको रूपमा आयोजना भइरहेको छ।' उनले सिक्किम कलाकार भरोसा सम्मेलन अब सरकारी कार्यक्रमको रूपमा आयोजना गरिने निर्णय सबै कलाकारहरूका लागि हर्षको विषय रहेको बताए।

अध्यक्ष राईले मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किमका कलाकारहरूलाई समर्थ बनाउन चाहन्छन् भन्दै सिक्किम कलाकार भरोसा सम्मेलन पनि सोही उद्देश्यपूर्तिको एक भाग रहेको अवगत गराए। उनले कार्यक्रम पहिले 8 र 9 मईमा आयोजना हुने तय भएको थियो, तर मुख्यमन्त्रीको व्यस्तताका कारण नयॉं मिति तय गरिएको जानकारी गराए। मुख्यमन्त्रीले स्वयं व्यक्तिगत रूपमा कलाकारहरूबीच उपस्थित हुने इच्छा गरेकाले उनकै दिशानिर्देशमा कार्यक्रम 14 र 15 मईमा गरिने भएको उनले बताए।

उनले यस पाली बोर्डले कलाकारहरूसॅंग अन्तरक्रिया गरेर उनीहरूकै सुझाउ अनुरुप कार्यक्रमहरू तय गरेको बताए। उनले पहिलो दिन संगीत, नृत्य, फाइन आर्ट्स, फिल्म, थिएटर आदि विधामा स्रोत व्यक्तहरूले मास्टर क्लास सञ्चालन गर्ने जानकारी गराए। स्रोत व्यक्तिहरूका रूपमा नेपालकी प्रसिद्ध अभिनेत्री करिश्मा मानन्धर, कलाकार सन्दिप छेत्री आदि उपस्थित रहनेछन्। उनले सोही दिन सॉंझ कार्यक्रमको औपचारिक उद्घाटन समारोह सम्पन्न गरिने बताए, जसमा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेल र पूर्व विधायक कृष्ण कुमार राई उपस्थित रहनेछन्।

बोर्ड अध्यक्ष राईले यस पाली कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरहरूलाई कलाकार भरोसा सम्मेलनमा सामेल नगर्ने निर्णय लिइएको बताए। उनले उनीहरूका लागि चॉंडै क्रिएटर्स कन्क्लेभ आयोजना गरिने स्पष्ट पारे। उनले दोस्रो दिनको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित रहने बताए। यस दिन गोल्डन भोइस र फीट लगायत सिक्किम आइडलका विजयी कलाकारहरूले आफ्नो प्रस्तुति दिने उनले बताए। यस दिन बलीवुडका प्रसिद्ध अभिनेता सोनु सुदको विशेष उपस्थिति रहने र राज्यका कलाकारहरूलाई सम्बोधन गर्ने उनले बताए।

यस अघि सांस्कृतिक प्रकोष्ठका उपाध्यक्ष डा. मनोज राईले कार्यक्रममा दुई वर्गमा कलाकारहरूलाई अभिनन्दित गरिने जानकारी गराए। उनले पहिलो सामान्य वर्ग रहनेछ भने दोस्रो सिक्किममा आयोजित रियालिटी शोका कलाकारहरूलाई सम्मान रहने बताए। उनले अभिनन्दित हुन लागेका कलाकारहरूको छनोट पूर्ण रूपमा मूल्याङ्कन कमिटीको सिफारिसमा गरिने स्पष्ट पारे। उनले भने, 'कलाकारहरू निरन्तर रचनात्मक कार्यमा लागिरहनु पर्छ। पुरस्कारहरू स्याबासी मात्र हुन्, कुनै गन्तव्य होइनन्।'

यसैगरी, सम्मेलनकी मुख्य संयोजक सुष्मा छेत्रीले कार्यक्रमलाई सफल बनाउन राज्यका सबै जिल्लामा संयोजकहरू नियुक्त गरिएको जानकारी दिँदै हालसम्म ९१२ जना कलाकारहरूले पञ्जीकरण गरिसकेको बताइन्। उनले कलाकारहरूलाई 14 मई बिहान 9-12 बजीभित्र उपस्थित भएर पञ्जीकरण प्रक्रिया पूरा गर्न अनुरोध गरिन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande