नेहुर बालासनमा गोरामुमोको सांगठनिक सभा सम्पन्न
gnlf meeting


खरसाङ, 13 मई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत नेहुर बालासन शाखाको सांगठनिक सभा सम्पन्न भएको छ। गोरामुमो शाखा अध्यक्ष दीपक मोक्तानको अध्यक्षतामा आयोजित उक्त सभामा खरसाङ ब्राञ्च कमिटीका उपाध्यक्ष सुरेन मोक्तान प्रमुख रूपमा उपस्थित रहेका थिए।

सभालाई सम्बोधन गर्दै उपाध्यक्ष मोक्तानले हालै सम्पन्न पश्चिम बंगाल विधानसभा चुनाउमा पार्टी अध्यक्ष मन घिसिङले जारी गरेको निर्देशनलाई पूर्ण रूपमा पालन गर्दै भाजपा गठबन्धनका उम्मेदवारहरूलाई भारी मतले विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेहुर बालासन क्षेत्रका कार्यकर्ता तथा समर्थकहरूलाई धन्यवाद ज्ञापन गरे। उनले क्षेत्रीय व्यवस्था परिवर्तन तथा गोर्खा समुदायको राजनीतिक अधिकार सुनिश्चित गर्ने दिशामा गोरामुमो निरन्तर अग्रसर रहेको उल्लेख गर्दै आगामी दिनहरूमा गोर्खा जनताको भाग्य परिवर्तन हुने विश्वास व्यक्त गरे।

साथै पार्टीलाई अझ सशक्त बनाउन सबैलाई एकजुट भएर साथ दिन आग्रह गरे। सभामा संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा आगामी कार्यक्रमहरूबारे शाखाका प्रतिनिधिहरूले आ-आफ्ना सुझाउ प्रस्तुत गरेका थिए। बैठकले आगामी दिनहरूमा यस्ता सांगठनिक सभा निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको जानकारी प्राप्त भएको छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande