
सोरेङ, 13 मई (हि.स.)। सोरेङ जिल्लाअन्तर्गत च्याखुङमा प्रस्तावित प्राथमिक स्वास्थ्य केन्द्रका लागि छुट्याइएको जग्गाको आज संयुक्त निरीक्षण गरिएको छ। निरीक्षणमा सरकारी अधिकारी, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
निरीक्षण टोलीको नेतृत्व सोरेङ-च्याखुङ निर्वाचन क्षेत्रका विधायक आदित्य गोलेले गरेको थियो। निरीक्षणका क्रममा उक्त स्थान प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाका लागि उपयुक्त र व्यवहार्य छ-छैन भन्ने अध्ययन गरिएको थियो। यस परियोजनाले क्षेत्रको स्वास्थ्य पूर्वाधार सुदृढ़ बनाउँदै स्थानीय नागरिकलाई थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखेको बताइएको छ।
भ्रमण टोलीले प्रस्तावित परियोजनासम्बन्धी विभिन्न प्राविधिक तथा प्रशासनिक पक्षबारे विस्तृत छलफल गर्दै च्याखुङ तथा आसपासका क्षेत्रका नागरिकहरूका साथै नेताजी सुभाषचन्द्र बोस उत्कृष्टता विश्वविद्यालयका विद्यार्थीहरूको बढ्दो स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखी स्वास्थ्य केन्द्र समयमै स्थापना गर्नुपर्ने आवश्यकतामा जोड दिएको थियो।
स्थानीय नागरिक तथा जनप्रतिनिधिहरूले यस पहलप्रति विधायक आदित्य गोले र राज्य सरकारप्रति आभार व्यक्त गर्दै परियोजनाको सफल कार्यान्वयनका लागि पूर्ण सहयोग रहने विश्वास दिलाएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल