खरसाङको रोहिणी रोडमा रहेको टोल ट्याक्स बन्द गर्नुपर्ने माग, गोरामुमोद्वारा जिल्लापाललाई ज्ञापन
गोरामुमोद्वारा जिल्लापाललाई ज्ञापन पत्र


दार्जिलिङ 13 मई (हि.स.)। खरसाङको सुवास घिसिङ मार्ग (रोहिणी रोड) टोल ट्याक्स बन्द गरिनु पर्ने माग गर्दै गोरामुमो केन्द्रिय समितिका प्रवक्ता वाई लामाको नेतृत्वमा आज दार्जिलिङ जिल्लापाललाई ज्ञापनपत्र बुझाइएको छ।

ज्ञापन पत्र बुझाएपछि प्रवक्ता लामाले पत्रकारहरुलाई हिजो मंगलबार मात्र पश्चिम बंगाल सरकारका मुख्य सचिव मनोजकुमार अग्रवालले बंगालभरिका गैर कानुनी रुपमा सञ्चालित टोल ट्याक्सहरु बन्द गर्ने अधिसूचना निकालेको बताए। यसै क्रममा खरसाङको सुवास घिसिङ मार्ग (रोहिणी रोड) मा रहेको टोल ट्याक्स पनि बन्द गरिनु पर्ने माग गर्दै जिल्लापाललाई ज्ञापन पत्र बुझाइएको उनले बताए।

प्रवक्ता लामाले भने, हामीलाई लाग्छ सुवास घिसिङले जनताको सुविधाका लागि बनाइदिएको रोहिणी रोडमा गैर कानुनी रुपमा टोल ट्याक्स उठाउने काम भइरहेको छ। त्यो ट्याक्स कता जान्छ, के गर्छ थाहा छैन। यसमा कुनै पारदर्शिता छैन। त्यसैले हामीले यो टोल ट्याक्स बन्द गरिनु पर्छ भनेर माग गरेका छौं।

उनले भने, हामीले रोहिणी रोड मार्गमा रहेको टोल ट्याक्स बन्द गर्नुपर्ने मागमा गत 7 मईमा नै जिल्लापाललाई ज्ञापन पत्र बुझाएका थियौँ। जिल्लापपालले जीटीएको मुख्य सचिवसित बसेर कुरा गर्ने अनि गोरामुमोलाई पनि बोलाउने आश्वासन दिएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande