
कोलकाता, 14 मई (हि.स.)। पश्चिम बङ्गालकी पूर्व मुख्य सचिव नन्दिनी चक्रवर्तीलाई मुख्यमन्त्री शुभेन्दु अधिकारी नेतृत्वाधिन नयाँ सरकारमा महत्वपूर्ण दायित्व सुम्पिइएको छ। विधानसभा चुनाउ घोषणा भएपछि आयोगद्वारा अपदस्थ गरिएकी नन्दिनी चक्रवर्तीलाई अब मुख्यमन्त्री कार्यालय अधिनस्थ “विकास कार्यहरूको प्रधान समन्वयक”- को रूपमा महत्वपूर्ण दायित्व दिइएको छ।
नवान्न सूत्र अनुसार नन्दिनी चक्रवर्तीलाई भारत-बङ्गलादेश अन्तर्राष्ट्रिय सीमामा बारबन्दी गर्नको लागि सीमा सुरक्षा बललाई जमीन हस्तान्तरण गर्ने प्रक्रियाको निगरानी गर्ने जिम्मेवारी दिइएको छ। नयाँ राज्य मन्त्रीमण्डलको गत 11 मईमा बसिएको पहिलो बैठकमा यस प्रक्रियालाई आगामी 45 दिनभित्रमा पूरा गर्ने प्रस्ताव पारित गरिएको थियो।
सूत्रले बतायो, प्रशासनिक अनुभव र गृह विभाग समेत केही महत्वपूर्ण विभागहरूमा कार्य गरेको कारणले नन्दिनी चक्रवर्तीलाई यस जिम्मेवारीको निम्ति उपयुक्त मानिएको हो। उनले केन्द्र प्रायोजित विकास परियोजनाहरूको क्रियान्वयनको निगरानी पनि गर्नेछन्।
भारतीय प्रशासनिक सेवामा पश्चिम बङ्गाल क्याडरकी नन्दिनी चक्रवर्ती राज्यकी पहिलो महिला मुख्य सचिव रहिसकेकी छन्। तथापि उनको कार्यकाल अत्यन्त छोटो रह्यो। गत 15 मार्चको दिन मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारद्वारा विधानसभा चुनाउको मिति घोषणा गरिएको केही घण्टापछि नै चुनाउ आयोगले उनलाई अपदस्थ गरिदिएको थियो।
नन्दिनी चक्रवर्तीलाई पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको निकटवर्ती अधिकारीहरूमा गनिन्थ्यो। उनले राज्यका गृह सचिव, सूचना एवं संस्कृति विभागकी सचिव तथा पश्चिम बङ्गालका पूर्व राज्यपाल सीवी आनन्द बोसकी सचिवको रूपमा समेत कार्य गरिसकेकी छन्।
राजनीति विज्ञानमा स्नातक नन्दिनी चक्रवर्तीले कोलकाताको लेडी ब्रेबोर्न कलेज औ जवाहरलाल नेहरू विश्वविद्यालयबाट उच्च शिक्षा प्राप्त गरेकी छन्। जनवरी, 2026-मा उनलाई केही वरिष्ठ अधिकारीहरूको वरिष्ठतालाई पन्छाउँदै मुख्य सचिव बनाइएको थियो जसलाई लिएर विवाद पनि भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा