
खरसाङ, 14 मई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका विभिन्न तहमा जिम्मेवारी सम्हालिरहेका चारजना नेताहरू आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) मा औपचारिक रूपमा सामेल भएका छन्। गोरामुमोको केन्द्रिय कार्यालय, दार्जिलिङमा आयोजित एक कार्यक्रममा उनीहरू गोरामुमोमा सामेल भए।
सामेल हुनेहरूमा नितिन छेत्री- सांगठनिक सचिव, खरसाङ महकुमा समिति, दिलिप छेत्री- सचिव, सुकना ब्लक कमिटी सुर्य छेत्री- सचिव, चम्टा कुकलुङ बस्ती बुथ कमिटी, प्रकाश लामा- अध्यक्ष, खैरेनी पुन्डिङ बस्ती बुथ कमिटी, नवप्रवेशी रहेका छन्। उनीहरूलाई गोरामुमो अध्यक्ष मन घिसिङ, खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा तथा गोर्खा राष्ट्रिय नारी संगठनका प्रतिनिधिहरूले खदा लगाइदिएर स्वागत गरे।
अध्यक्ष मन घिसिङले गोर्खा समुदायको अधिकार, पहिचान र स्थायी राजनीतिक समाधानका लागि गोरामुमो निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै नयॉं सदस्यहरूलाई संगठनलाई अझ सशक्त बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। पार्टी प्रवेशसँगै खरसाङ क्षेत्रका विभिन्न स्थानमा गोरामुमोप्रति जनआस्था र समर्थन बढ्दो रहेको नेताहरूले दाबी गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक