गेलिङ्ग धाममा तीनदिने राष्ट्रिय जोसमनी सन्त-साहित्य सम्मेलन सम्पन्न
गेलिङ्ग धाममा तीनदिने राष्ट्रिय जोसमनी सन्त-साहित्य सम्मेलन सम्पन्न


सोरेङ, 14 मई (हि.स.)। गुरु ज्ञानदिल दास धाम, गेलिङ्ग साम्सिङ तथा अखिल भारतीय जोसमनी सनातन धर्म कल्याण संस्थानको संयुक्त आयोजनामा आयोजित तीन दिने “राष्ट्रिय जोसमनी सन्त-साहित्य सम्मेलन, २०२६” आज सोरेङ जिल्लाको गुरु ज्ञानदिल दास धाम, गेलिङ्गमा भव्य रूपमा सम्पन्न भयो। समापन समारोहमा सिक्किम राज्य ब्याङ्कका अध्यक्ष डीबी गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराएकोमा आयोजक समितिलाई बधाई दिए। उनले जोसमनी सम्प्रदायको साहित्यिक योगदान र आध्यात्मिक महत्वबारे चर्चा गर्दै आध्यात्मिक गुरु ज्ञानदिल दासका शिक्षाहरूको महत्त्व उजागर गरे। उनले गुरु ज्ञानदिल दासले समाजलाई नैतिकता, सरलता, आध्यात्मिकता तथा धर्ममार्गतर्फ डोर्याउने ईश्वरका दूतको रूपमा वर्णन गरे।

उनले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा राज्य सरकारद्वारा धार्मिक तथा आध्यात्मिक गतिविधिहरूलाई प्रदान गरिएको सहयोगको प्रशंसा गरे। राज्यमा भइरहेको पूर्वाधार विकासले अन्तरराष्ट्रिय पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने उल्लेख गर्दै सरकारले विभिन्न धार्मिक सम्प्रदाय र तिनका गतिविधिहरूलाई सहयोग गरेर आध्यात्मिक प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए।

आयोजक समितिका अध्यक्ष गोविन्द शर्माले सम्मेलन सफल बनाउन सहयोग पुर्याएकोमा मुख्यमन्त्री तथा राज्य सरकारप्रति आभार व्यक्त गरे। उनले सन्त-साहित्य सम्मेलन २०२६ को उद्देश्य जोसमनी आध्यात्मिक दर्शनलाई प्रवर्द्धन, प्रचार तथा सुदृढ गर्दै समाजलाई नैतिक र आध्यात्मिक रूपमा जागृत बनाउनु रहेको बताए। गुरु ज्ञानदिल दासका शिक्षा र आध्यात्मिक विरासतलाई विश्वभर फैलाउन विद्वान, सन्त तथा अनुयायीहरूको सामूहिक प्रयास आवश्यक रहेकोमा उनले जोड़ दिए।

कार्यक्रममा सन्तहरूलाई “मुष्टि दान” प्रदान गरियो भने आयोजक समितिले प्रमुख अतिथि तथा अन्य विशिष्ट व्यक्तिहरूलाई सम्मान-चिन्ह प्रदान गर्यो। कार्यक्रममा सिक्किम लगायत दार्जिलिङ, डुवर्स तथा नेपालबाट आएका सन्तहरू, साहित्यकारहरू, विद्यार्थीहरू तथा आयोजक समितिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande