एनडीएमयू मङ्गनद्वारा डेरी सहकारी संस्थाहरूका लागि जनचेतना अभियान सञ्चालित
एनडीएमयुद्वारा सचेतना कार्यक्रम


मङ्गन, 14 मई (हि.स.)। उत्तर जिल्ला दुग्ध संघ (एनडीएमयू) को तत्वावधानमा तथा सिक्किम सरकारको सहकारिता विभागद्वारा वित्तपोषित डेरी सहकारी संस्थाहरू (डीसीएस) का लागि जनचेतना अभियान हालै सफलतापूर्वक सम्पन्न गरिएको छ। एनडीएमयू, मङ्गनद्वारा चारवटा फरक क्लस्टरअन्तर्गत सम्बन्धित क्षेत्रहरूमा छुट्टाछुट्टै जनचेतना कार्यक्रम आयोजना गरिएको थियो, जसमा एनडीएमयू अन्तर्गतका विभिन्न डेरी सहकारी संस्थाहरू समेटिएका थिए। कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरू, दूध उत्पादक किसानहरू, डेरी सहकारी संस्थाका प्रतिनिधिहरू, स्थानीय पञ्चायत प्रतिनिधिहरू तथा सहकारिता विभाग, पशुपालन एवं पशु चिकित्सा सेवा विभाग, सिस्को ब्याङ्क र एनडीएमयूका अधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।

जनचेतना कार्यक्रमको मुख्य उद्देश्य डेरी सहकारी संस्थाका व्यवस्थापन समिति तथा सदस्यहरूलाई सहकारी सञ्चालनको महत्व, सक्रिय सहभागिता तथा दिगो डेरी विकासबारे सचेत गराउनु थियो। कार्यक्रममा कुल २८८ जना किसानहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमले निष्क्रिय तथा बन्द अवस्थामा रहेका डेरी सहकारी संस्थाहरूलाई पुनर्जीवित गर्ने तथा एनडीएमयूअन्तर्गत सञ्चालनमा रहेका संस्थाहरूलाई सुदृढ बनाउने विषयमा पनि जोड दिएको थियो। सभामा सर्वसम्मत रूपमा नामोक १ डीसीएस तथा रालाक डीसीएसलाई पुनर्जीवित गर्ने निर्णय गरीएको छ।

सबै कार्यक्रमहरूको अध्यक्षता एनडीएमयूका प्रबन्ध निर्देशक साम्तेन भोटियाले गरेको थियो। उनले डेरी सहकारी संस्थाहरूले ग्रामीण किसान तथा दूध उत्पादकहरूको सामाजिक-आर्थिक अवस्थाको सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। साथै, सहकारी संस्थाहरूको दीर्घकालीन दिगोपनाका लागि सामूहिक जिम्मेवारी, पारदर्शिता तथा समन्वित प्रयास आवश्यक रहेकोमा जोड दिए।

पञ्चायत प्रतिनिधिहरूले एनडीएमयू, सहकारिता विभाग तथा पशुपालन एवं पशु चिकित्सा सेवा विभागद्वारा गरिएको पहलको प्रशंसा गर्दै सम्बन्धित क्षेत्रमा डेरी सहकारी संस्थाहरूको विकास र सुदृढीकरणका लागि पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमका क्रममा अन्तरक्रियात्मक सत्रहरू पनि सञ्चालन गरिएको थियो, जहाँ सहभागीहरूले डेरी सहकारी संस्थाहरूको सञ्चालनसम्बन्धी समस्या, चुनौती तथा सुझाउहरू साझा गरेका थिए। एनडीएमयूका अधिकारीहरूले उठाइएका जिज्ञासाहरूको समाधान गर्दै आवश्यक मार्गदर्शन प्रदान गरेका थिए।

चारै क्लस्टरमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र डेरी सहकारी संस्थाका सदस्य तथा सरोकारवालाहरूबाट सकारात्मक सहभागिता र प्रतिक्रिया प्राप्त भयो। यस अवसरमा उत्कृष्ट दूध उत्पादक किसानहरूलाई सम्मानसहित गाईवस्तुको आहार र किसानहरूलाई खनिज मिश्रण तथा आवश्यक पशु औषधिहरू पनि वितरण गरिएको एनडीएमयुले प्रेस विज्ञप्तिमा बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande