सिलगढ़ीको ‘महाकाल महातिर्थ’ परियोजनामाथि अनिश्चितताको काल बादल, कामको गति मन्द
सिलगढ़ीको ‘महाकाल महातिर्थ’ परियोजनामाथि अनिश्चितताको काल बादल, कामको गति मन्द


सिलगढ़ी, 14 मई (हि. स.)। माटीगाड़ा उपनगरको छेउमा अवस्थित खाली जमीनमा निर्माण हुन लागेको बहुचर्चित ‘महाकाल महातिर्थ’ परियोजनामाथि अब अनिश्चितताको कालो बादल छाएको छ। यसै वर्षको शुरूमा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीले बड़ो धुमधामसितले यस परियोजनाको आधारशिला राखेकी थिइन्। तर राज्यमा सत्ता परिवर्तन भएपछि अब यसको गति मन्द भएको छ।

यो परियोजना लगभग 17.81 एकड़ जमीनमा विकसित हुने भएको थियो जसमा 108 फुट अग्लो काँस्य प्रतिमा र देशका 12 वटा ज्योतिर्लिङ्गहरूको प्रतिकृति बनाउने योजना थियो। यसलाई अढ़ाई वर्षभित्रमा पूरा गर्ने लक्ष्य राखिएको थियो ताकि सिलगढ़ीलाई एक प्रमुख पर्यटन केन्द्रको रूपमा विकसित गर्न सकियोस्।

तर अब राजनीतिक परिस्थिति परिवर्तन भएको छ। राज्यमा भाजपाको सरकार बनिएपछि यो परियोजना दुविधाको विषय बन्न पुगेको छ। एकातिर हिन्दुत्वको विचारधारा भएकोले मन्दिर निर्माणलाई रोक्नु सहज छैन भने अर्कोतिर सरकारी फण्डबाट मन्दिर निर्माणलाई लिएर पहिला नै विरोध गरिएकोले नयाँ सरकार सामु आर्थिक व्यवस्था एउटा ठूलो चुनौती भएको छ।

यसबीच परियोजनाको लागि गठित ट्रष्ट बोर्डलाई पनि नयाँ अधिसूचनापछि भङ्ग गरिएको छ जसबाट प्रशासनिक स्तरमा पनि असमञ्जसको स्थिति उत्पन्न भएको छ।

अधिकारीहरूको भनाइ छ, अब नयाँ सरकारको नीतिको प्रतीक्षा गर्नुपर्छ।

सिलगढ़ीका मेयर गौतम देवले पनि यस मुद्दामा अनिश्चितता व्यक्त गर्दै भने, नयाँ सरकारले यस परियोजनालाई लिएर के निर्णय लिन्छ, अहिले स्पष्ट भएको छैन। यता स्थानीय जनप्रतिनिधिहरूको मान्यता छ, यस किसिमको ठूलो परियोजनाले क्षेत्रको अर्थव्यवस्थालाई प्रोत्साहित गर्छ।

माटीगाड़ा-नक्सलबाड़ीका विधायक आनन्दमय बर्मन औ सिलगढ़ीका विधायक शङ्कर घोषले पनि आशा व्यक्त गरे, परियोजनालाई अगाड़ि बढ़ाइनेछ।

दार्जीलिङका सांसद राजू बिष्टले पनि मन्दिर निर्माणको पक्षमा मत राखे पनि सँगसँगै उनले यो पनि भने, कुनै पनि सरकारको लागि सोझै मन्दिर निर्माणको निम्ति फण्ड दिनु सम्भव छैन, त्यसैले वित्तीय श्रोत तय गर्नु आवश्यक छ।

हाल परियोजना स्थलमा काम मन्द गतिमा भइरहेको छ, तर यो भव्य ‘महाकाल महातिर्थ’ कहिल्ये पूरा हुने हो, कुनै निश्चितता छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande