कर्नाटकमा वर्षाको प्रकोप, ६ जनाको मृत्यु
कर्नाटकमा वर्षाको प्रकोप, ६ जनाको मृत्यु


बेङ्गलुरु, 15 मई (हि.स.)। कर्नाटकका विभिन्न जिल्लाहरूमा बिहीबार राति परेको भारी वर्षा, तीव्र हावाहुरी तथा चट्याङका घटनाले जनजीवन अस्तव्यस्त बनेको छ। विजयपुर र दावणगेरेसहित धेरै जिल्लामा ठूलो क्षति पुगेको छ। धेरै घरहरू भत्किएका छन् भने रुख र बिजुलीका पोलहरू ढलेका छन्। वर्षासम्बन्धी घटनामा राज्यभर कुल ६ जनाको मृत्यु भएको छ।

विजयपुर जिल्लाको आलमेल तालुकअन्तर्गत मोरगटी गाउँमा तीव्र वर्षा र हावाहुरीका कारण एक घरको छाना र पर्खाल भत्किँदा एउटै परिवारका चार जनाको मृत्यु भएको छ। मृतकहरूमा गुरुनाथ बडिगेर (३५), उनकी पत्नी ज्योति बडिगेर (२८), छोरी कालम्मा (१३) र अर्की छोरी कीर्ति (९) रहेका छन्।

त्यस्तै, विजयपुर जिल्लाकै मुद्देबिहाल तालुकस्थित बिदरकुन्दी गाउँमा तीव्र हावाहुरीका क्रममा ठूलो रुख ढल्दा एक वृद्धको मृत्यु भएको छ। दावणगेरे जिल्लाको जरेकट्टे गाउँमा खेतमा भेडा चराइरहेका १९ वर्षीय युवक अजीतको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ।

रातभर परेको वर्षाले राज्यका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बेलगावी जिल्लाको खानापुर तालुकस्थित भूरणकी गाउँमा एक विद्यालयको छाना उडेको छ। अथणी तालुकको संबरगी गाउँमा पाँचवटा घरको छाना भत्किँदा अन्न तथा घरायसी सामग्री नष्ट भएका छन्। हावेरी जिल्लाको इजारिलकमापुर क्षेत्रमा घुमन्ते समुदायका झुपडीहरू तीव्र हावाले उडाएको छ।

चिक्कमगलूर-श्रृंगेरी राज्य राजमार्गमा ठूलो रुख ढल्दा केही समय यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। उत्तर कन्नड जिल्लाको भटकल र होन्नावर क्षेत्रमा पनि चट्याङसहित भारी वर्षा हुँदा धेरै स्थानमा विद्युत् आपूर्ति प्रभावित भएको छ।

यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले आगामी दुई दिनसम्म राज्यका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहने सम्भावना व्यक्त गरेको छ। बेङ्गलुरु शहरी तथा ग्रामीण, चित्रदुर्ग, कोलार र चिक्कबल्लापुरसहित दक्षिण आन्तरिक कर्नाटकका जिल्लाहरूमा चट्याङसहित भारी वर्षाको पूर्वानुमान गरिएको छ। तटीय तथा उत्तर आन्तरिक कर्नाटकमा पनि वर्षा जारी रहने सम्भावना रहेकाले नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande