
जोरहाट (असम), 15 मई, (हि.स.)। जोरहाटको नेहरू पार्क चारिआली क्षेत्रमा गए राती अचानक साइरन बजेको र बम पड़्केको जस्तो आवाज सुनेर क्षेत्रमा केही समयसम्म कोकोहोलो मचियो। तथापि पछि थाहा लाग्यो, यो भारतीय वायु सेना र असैनिक सुरक्षा विभागद्वारा आयोजित एक मक ड्रिलको एक भाग थियो।
यो अभ्यास युद्ध जस्तै स्थितिमा हवाई हमला भइहाले आपत परिस्थितिको सामना गर्ने तयारीलाई जाँच्ने उद्देश्यले आयोजना गरिएको थियो। मक ड्रिलको माध्यमबाट विभिन्न आपदा एवं राहत एजेन्सीहरूमाझ कायम समन्वय तथा तत्काल कारबाहीको क्षमतालाई प्रदर्शन गरियो।
अभ्यासको क्रममा चिकित्सा सेवा, अग्निशमन विभाग तथा बचाउ दलहरूले यो प्रदर्शन गरे- युद्धकालीन स्थितिमा घाइते मानिसहरूको उपचार, आगोलाई नियन्त्रण गर्ने तथा सर्वसाधारण नागरिकहरूलाई सुरक्षित स्थानसम्म पुऱ्याउने कार्य कसरी गरिनेछ।
अधिकारीहरूले बताए, यस मक ड्रिलको उद्देश्य मानिसहरूमा जागरूकता फैलाउनु अनि आपतकालीन स्थितिमा विभिन्न विभागहरूलाई प्रभावकारी ढङ्गमा कार्य गर्नको लागि प्रशिक्षित गर्नु हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा