किराँती खम्बु राई सांस्कृतिक संस्थान, सोनादा शाखाद्वारा उभौली पूजा सम्पन्न
Kirat rai puja


सोनादा, 15 मई (हि.स.)। किराँती खम्बु राई सांस्कृतिक संस्थान, सोनादा शाखाद्वारा आज उभौली पूजा भव्य रूपमा सम्पन्न गरिएको छ। संस्थानको सोनादा शाखाको आयोजनामा किराँती समुदायको महान सांस्कृतिक तथा धार्मिक पर्व उभौली पूजा श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न गरियो।

यस कार्यक्रममा स्थानीय किराँती खम्बु राई सोनादा शाखाका प्रतिनिधिबर्ग अनि सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। माङमा सोभा राईद्वारा विधिपूर्वक पूजा आर्चना गर्दै प्रकृतिपूजक किराँती धर्मावलम्बीहरूले सुम्निमा पारुहाङको आराधना गर्दै राम्रो खेतीपाती, सुख शान्ति, समृद्धि तथा मानव कल्याणको कामना गरेको संस्थानका सचिव अजय राईले जानकारी दिएका छन्।

उनले बताए अनुसार, उँभौली पर्वले चराचुरुङ्गी, वनस्पति र मानिसहरू उँभो अर्थात् लेकतिर उक्लने प्राकृतिक चक्रलाई प्रतीकात्मक रूपमा प्रतिनिधित्व गर्दछ। यस पर्वले प्रकृतिप्रतिको सम्मान, पुर्खाहरूको स्मरण तथा सामुदायिक एकताको सन्देश दिने विश्वास गरिएको छ।

कार्यक्रममा सहभागीहरूले आफ्नो मौलिक भेषभूषामा सजिएर साकेला सिली नृत्य प्रस्तुत गरेका थिए। ढोल, झ्याम्टा र परम्परागत बाजागाजासहित प्रस्तुत गरिएको सिली नृत्यले सम्पूर्ण वातावरणलाई उल्लासमय बनाएको थियो। संस्थाका शाखा पदाधिकारीहरूले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कार, परम्परा र पहिचानसँग जोडेर राख्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

कार्यक्रमको सफल आयोजनाका लागि सहयोग पुर्याउने सम्पूर्ण महानुभाव, अतिथि, सहभागी तथा शुभेच्छुकहरूप्रति आयोजक समितिले हार्दिक आभार व्यक्त गरेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande