
कोलकाता, 15 मई (हि.स.)। पश्चिम बंगालका पूर्व खाद्य मन्त्री एवं मध्यमग्रामबाट तृणमूल कांग्रेस विधायक रथीन घोष शुक्रबार बिहान प्रवर्तन निर्देशनालय (ईडी) को साल्टलेकस्थित कार्यालय पुगेका छन्। घोषलाई नगर निकाय भर्ती घोटाला प्रकरणको अनुसन्धानका सिलसिलामा केन्द्रिय एजेन्सीले पटक-पटक समन जारी गरेको थियो।
स्रोतका अनुसार, रथीन घोष बिहान करिब साढे १० बजी सीजीओ कम्प्लेक्सस्थित ईडी कार्यालय पुगेका हुन्। कार्यालय प्रवेश गर्नुअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आफूलाई कुन कारणले बोलाइएको हो भन्ने जानकारी नभएको बताएका थिए।
ईडीले नगर निकाय भर्ती घोटाला प्रकरणमा अनियमितता तथा आर्थिक कारोबारसम्बन्धी अनुसन्धान गरिरहेको छ। यसै क्रममा विभिन्न राजनीतिक नेता तथा प्रशासनिक अधिकारीहरूसँग सोधपुछ भइसकेको छ।
केन्द्रिय एजेन्सीका स्रोतहरूका अनुसार, रथीन घोषसँग सोधपुछ शुरु भइसकेको छ। नगर निगम भर्ती प्रकरणसँग सम्बन्धित भ्रष्टाचारका विभिन्न कागजात अनुसन्धान एजेन्सीको हात लागेकाले सोही आधारमा उनीसँग बयान लिने कार्य भइरहेको बताइएको छ।
उल्लेखनीय छ, यही प्रकरणमा तीन दिनअघि पूर्व दमकल मन्त्री तथा टीएमसीका प्रभावशाली नेता सुजीत बोसलाई पनि सोधपुछका लागि बोलाइएको थियो, जसपछि उनलाई पक्राउ गरिएको थियो। यसैगरी, एक दिनअघि ममता ब्यानर्जीका निकट मानिएका कोलकाता पुलिसका डीसीपी शान्तनु सिन्हा विश्वासलाई ईडीले पक्राउ गरेको थियो। अहिले रथीन घोषसँग सोधपुछ भइरहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी