
कोलकाता, 15 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभाले शुक्रबार नयाँ अध्यक्ष पाएको छ। कूचबिहार दक्षिणबाट भारतीय जनता पार्टी (भाजपा) का विधायक रथीन्द्र बोसलाई विधानसभा अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरिएको हो। पहिलोपटक विधायक बनेका रथीन्द्र बोसको निर्वाचन प्रोटेम स्पीकर तापस रायको निगरानीमा सम्पन्न भएको थियो।
सत्तारूढ भाजपाका तर्फबाट मुख्यमन्त्री शुभेन्दु अधिकारीले रथीन्द्र बोसको नाम प्रस्ताव गरेका थिए, जसलाई दिलीप घोषले समर्थन गरेका थिए। ध्वनि मतमार्फत उनलाई विधानसभा अध्यक्ष घोषणा गरियो। सदनको कार्यवाही ‘वन्दे मातरम्’ बाट शुरु भएको थियो। अध्यक्ष निर्वाचनका क्रममा तृणमूल कांग्रेसका विधायकहरू सदनमा उपस्थित थिएनन्, यद्यपि पछि उनीहरू कार्यवाहीमा सहभागी भएका थिए।
निर्वाचनपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी तथा विपक्षी नेता शोभनदेव चट्टोपाध्यायले रथीन्द्र बोसलाई अध्यक्षको आसनसम्म पुर्याएका थिए। टीएमसीले उक्त निर्वाचनको विरोध नगरेको बताइएको छ। पूर्व विधानसभा अध्यक्ष बिमान बन्द्योपाध्यायले पनि रथीन्द्र बोसलाई शुभकामना दिए।
विधानसभाको परम्पराअनुसार, अध्यक्ष बनेपछि रथीन्द्र बोसले सबैभन्दा पहिले मुख्यमन्त्रीलाई सम्बोधनका लागि अनुमति दिएका थिए। मुख्यमन्त्री शुभेन्दु अधिकारीले नयाँ अध्यक्षलाई स्वागत गर्दै आगामी पाँच वर्षमा विधानसभा राज्यका जनताको अपेक्षाअनुसार रचनात्मक ढंगले अघि बढ्ने बताए। उनले विपक्षलाई आफ्नो धारणा राख्न पूर्ण अवसर दिइने र सदनको कार्यवाही अवरुद्ध हुनु नहुने पनि स्पष्ट पारे।
त्यसपछि विपक्षी नेता शोभनदेव चट्टोपाध्यायसहित विभिन्न दलका विधायकहरूले नयाँ अध्यक्षलाई बधाई दिएका थिए। नौशाद सिद्दीकी र मोस्ताफिजुर रहमान राणाले पनि शुभकामना व्यक्त गरेका छन्।
रथीन्द्र बोस पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् र लामो समयसम्म आरएसएससँग आबद्ध रहेका थिए। त्यसपछि उनले सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। सन् २०२६ को विधानसभा निर्वाचनमा उनले कूचबिहार दक्षिण सीटबाट टीएमसी उम्मेदवार अभिजीत डे भौमिकलाई २३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए।
सामान्यतया विधानसभा अध्यक्ष पदका लागि कानुनविद् वा अधिवक्ता पृष्ठभूमिका नेताहरूलाई प्राथमिकता दिने परम्परा रहेको भए पनि भाजपाले रथीन्द्र बोसलाई उम्मेदवार बनाएर फरक बाटो अपनाएको छ। निर्विरोध निर्वाचनसँगै अब उनी पश्चिम बंगाल विधानसभाका नयाँ अध्यक्ष बनेका छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी