तेस्रो सिक्किम कलाकर भरोसा सम्मेलन २०२६ को समापन
तेस्रो सिक्किम कलाकर भरोसा सम्मेलन २०२६ को समापन


- सहयोगको आवश्यकता पर्ने योग्य प्रतिभाहरूलाई सहयोग गर्न सरकार प्रतिबद्ध: मुख्यमन्त्री

गान्तोक, 15 मई (हि.स.)। तेस्रो सिक्किम कलाकर भरोसा सम्मेलन (एसकेबीएस) २०२६ को समापन आज राजधानीमा भव्य र उत्साहका सम्पन्न गरियो। सिक्किम कला, संस्कृति र धरोहर विकास बोर्डद्वारा आयोजित यस कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए।

समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले कलाकारहरूलाई समाजको आत्मा बताउॅंदै सिक्किममा कलाकार, सांस्कृतिक अभ्यासकर्ता र रचनात्मक प्रतिभाको कल्याण, प्रवर्द्धन र सशक्तिकरणप्रति राज्य सरकारको प्रतिबद्धतालाई पुन: दोहोऱ्याए।

उनले सिक्किम, भारतका विभिन्न भागहरू र छिमेकी नेपालका कलाकारहरूलाई स्वागत गर्दै साझा भाषा, परम्परा, चाडपर्व र संगीत मार्फत सिक्किम र नेपालबीच साझा गहिरो सांस्कृतिक र भावनात्मक सम्बन्धलाई प्रकाश पारे। उनले नेपालका कलाकारहरूलाई सिक्किममा सधैं न्यानो स्वागत गरिन्छ र यस्ता सांस्कृतिक आदानप्रदानले स्थानीय कलाकारहरूलाई बहुमूल्य सिक्ने अवसर प्रदान गर्दछ भनी बताए।

मुख्यमन्त्रीले २०२४ मा शुरु भएको सिक्किम कलाकार भरोसा सम्मेलन कलाकारहरूलाई सम्मान गर्ने र दीर्घकालीन सरकारी सहयोग सुनिश्चित गर्ने संस्थागत मञ्चको रूपमा विकसित भएको बताए। उनले स्थानीय कलाकारहरूलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय मञ्चहरूसँग जोड्ने राज्य सरकारको दृष्टिकोणको एक भागको रूपमा आगामी वर्षहरूमा पनि यो कार्यक्रम जारी रहने बताए।

कलाकार र खेलाडीहरूले राष्ट्रिय तथा अन्तरराष्ट्रिय कार्यक्रमहरूमा भाग लिन आर्थिक रूपमा संघर्ष गर्नुपर्दैन भन्ने कुरामा जोड दिँदै मुख्यमन्त्रीले सहयोगको आवश्यकता पर्ने योग्य प्रतिभाहरूलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिए। सांस्कृतिक क्षेत्रमा गरिएका प्रमुख पहलहरूलाई उजागर गर्दै मुख्यमन्त्रीले राज्यमा संगीत र नृत्य एकेडेमीहरूको संख्या २०१९ मा लगभग १० बाट बढेर हाल लगभग ६० पुगेको जानकारी गराए। उनले यी संस्थाहरूलाई ₹३ लाख देखि ₹१० लाख सम्मको वार्षिक अनुदान प्रदान गरिँदै आएको पनि अवगत गराए। उनले सिक्किम आइडल जस्ता पहलहरू र राज्य बाहिर उच्च शिक्षा र विशेष तालिमको लागि प्रतिभाशाली युवाहरूलाई प्रदान गरिने सरकारी प्रायोजनहरूमाथि पनि प्रकाश पारे।

मुख्यमन्त्रीले उदीयमान कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गोल्डेन भ्वाइस अफ सिक्किम र गोल्डेन बीट अफ सिक्किम जस्ता कार्यक्रमहरू अन्तर्गत प्रमुख प्रोत्साहनहरूको घोषणा गरे। उनले राज्यको चलचित्र नीति, हरेक बिहिबार परम्परागत पोशाकको प्रवर्द्धन, सांस्कृतिक महोत्सवहरूको लागि सहयोग, र नामलीमा स्वर्ण जयन्ती सम्मेलन हल र राँकामा आगामी सांस्कृतिक तथा खेलकुद गाउँ जस्ता पूर्वाधार परियोजनाहरू लगायतका पहलहरूमाथि पनि प्रकाश पारे।

बलीवुडका प्रसिद्ध प्रख्यात अभिनेता, निर्माता, निर्देशक र समाजसेवी सोनु सूद सम्मेलनलाई सम्बोधन गर्दै कलाकार र सांस्कृतिक अभ्यासकर्ताहरूलाई सहयोग र प्रोत्साहन गर्न राज्य सरकारले गरेको पहलको प्रशंसा गरेका थिए।

कार्यक्रममा आयोजक समितिले मुख्यमन्त्री प्रेमसिंह तामाङ र पूर्व विधायक कृष्णा कुमारी राईलाई कार्यक्रम र राज्यको कलात्मक समुदायप्रतिको अटल समर्थनको कदर गर्दै सम्मान गरेको थियो। यसरी नै सिक्किमका २१ समुदायका प्रतिनिधिहरूलाई पनि राज्यमा सांस्कृतिक गतिविधिहरूको प्रवर्द्धनमा सक्रिय सहभागिता र योगदान पुर्‍याएकोमा सम्मानित गरियो। सिक्किम पुलिसका महानिदेशक अक्षय सचदेवा लगायत विभिन्न क्षेत्रका कलाकारहरू र विशिष्ट व्यक्तिहरूलाई पनि उनीहरूको योगदानको लागि सम्मानित गरिएको थियो।

कला र संस्कृतिको प्रवर्द्धनमा राज्य सरकारको निरन्तर सहयोगको एक भागको रूपमा विभिन्न नृत्य र संगीत एकेडेमीहरूलाई वित्तीय सहायता योजनाहरू अन्तर्गत सीएमडीजी चेक वितरण गरियो। यसैगरी, शैक्षिक सहायता प्राप्त गर्ने विद्यार्थीहरू सहित ७० संस्था र लाभार्थीहरूलाई आर्थिक सहयोग पनि प्रदान गरिएको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande