
कोलकाता, 16 मई (हि.स.)। तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव तथा डायमण्ड हार्बरका सांसद अभिषेक ब्यानर्जी विरुद्ध केन्द्रिय गृहमन्त्री अमित शाहलाई धम्की दिएको तथा भड्काउपूर्ण भाषा प्रयोग गरेको आरोपमा एफआईआर दर्ता गरिएको छ। विधाननगर साइबर क्राइम थाना पुलिसले शुक्रबार साँझ राजीव सरकार नामक व्यक्तिको उजुरीका आधारमा मुद्दा दर्ता गरेको हो। उजुरीकर्ताले पश्चिम बंगाल विधानसभा निर्वाचनको प्रचार अभियानका क्रममा अभिषेक बनर्जीले प्रयोग गरेको भाषाले राज्यमा अराजकता उत्पन्न हुन सक्ने आरोप लगाएका छन्।
पुलिसका अनुसार, राजीव सरकारले गत ५ मईमा बागुईआटी थानामा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा अभिषेक बनर्जीविरुद्ध भारतीय न्याय संहिता (बीएनएस) को धारा १९२, १९६, ३५१(२) र ३५३(१)(सी) अन्तर्गत मुद्दा दर्ता गरिएको छ। साथै, जनप्रतिनिधित्व ऐनको धारा १२३(२) र १२५ पनि लगाइएको छ।
एफआईआरमा सार्वजनिक कार्यक्रमहरूमा विपक्षी कार्यकर्ताविरुद्ध आक्रामक भाषा प्रयोग गरिएको आरोप उल्लेख गरिएको छ। उजुरीकर्ता राजीव सरकारले तृणमूल कांग्रेस पुनः सत्तामा फर्किए सामान्य नागरिकमाथि आक्रमण हुन सक्ने दाबी गरेका छन्। उनले आफ्नो उजुरी कुनै राजनीतिक उद्देश्यबाट प्रेरित नभएको पनि बताएका छन्।
हाल पुलिस सम्पूर्ण घटनाको अनुसन्धानमा जुटेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी