
गान्तोक, 16 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले सिक्किमको ५१औँ राज्य स्थापना दिवसको अवसरमा सिक्किमका सम्पूर्ण जनतालाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
राज्यपाल माथुरले शुक्रबार जारी आफ्नो सन्देशमा भने, 'म सिक्किमका सम्पूर्ण नागरिकहरूलाई ५१औँ राज्य स्थापना दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। १६ मई, १९७५ मा भारतीय संघको २२औँ राज्यको रूपमा समावेश भएपछि सिक्किमले विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक राष्ट्रको एक हिस्सा बनेर अत्यन्त अर्थपूर्ण यात्रा तय गरेको छ। आज हाम्रो राज्य शान्ति, प्रगति र साम्प्रदायिक सद्भावको उत्कृष्ट उदाहरणका रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ।'राज्यपालले सामाजिक, आर्थिक तथा पूर्वाधार विकासका क्षेत्रमा सिक्किमले हासिल गरेका उल्लेखनीय उपलब्धिहरू यहाँका नागरिकहरूको अटल समर्पण र कठोर परिश्रमको परिणाम रहेको बताएका छन्। उनले विकास र प्रकृतिबीच कसरी सन्तुलन कायम गर्न सकिन्छ भन्ने सिक्किम आज सम्पूर्ण विश्वका लागि जीवन्त उदाहरण बनेको बताएका छन्।राज्यपालले सम्पूर्ण सिक्किमवासीहरूलाई अमूल्य प्राकृतिक सम्पदा तथा स्रोतहरूको संरक्षणप्रति सधैं सचेत रहन विशेष अपील गरेका छन्। उनले राज्यको समृद्ध सांस्कृतिक सम्पदा तथा ‘एक भारत श्रेष्ठ भारत’ को भावनालाई अक्षुण्ण राख्दै ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ निर्माणका साथै ‘विकसित भारत @2047’ को लक्ष्य प्राप्तिमा आफ्नो योगदान दिन संकल्प पुनः दोहोर्याउन आह्वान पनि गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल