

गान्तोक, 16 मई (हि.स.)। केन्द्रिय सञ्चार तथा उत्तर-पूर्वी क्षेत्र विकास मन्त्रालय (डोनर) मन्त्री ज्योतिरादित्य सिन्धियाले आज राजधानीको रिज पार्कस्थित अर्किडेरियमको भ्रमण गरे।
स्वर्ण जयन्ती मैत्रेय मञ्जरी कम्प्लेक्सस्थित उक्त अर्किडेरियमले सिक्किमको पुष्प सम्पदा, जैविक विविधता संरक्षण तथा दिगो पर्यटनप्रतिको प्रतिबद्धतालाई प्रस्तुत गर्दछ। दुर्लभ तथा स्थानीय प्रजातिका अर्किडहरू समेटिएको यस केन्द्रले राज्यको पर्यावरणीय समृद्धि तथा संरक्षण प्रयासलाई उजागर गर्दछ।
अर्किडेरियम भ्रमणका क्रममा केन्द्रिय मन्त्रीले विभिन्न अर्किड प्रजाति, तिनको संरक्षण प्रक्रिया तथा विकास क्षेत्रको संरचनाबारे जानकारी लिए। उनले उक्त संस्थाको उच्च प्रशंसा गर्दै आफूले पूरा दिन नै अर्किडेरियम अवलोकनमा बिताउन सक्ने बताए। सजावटको अवलोकन तथा ग्लास संरक्षण एट्रियमको भ्रमणपछि उनले भिजिटर्स बुकमा हस्ताक्षर गर्दै आफ्नो भ्रमण सम्पन्न गरे।
केन्द्रिय मन्त्री सिन्धियालाई गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटिया, शहरी विकास विभागकी सचिव योगिता राई, योजना तथा विकास विभागका विशेष सचिव जिग्मी बासी, जीएमसी आयुक्त गेरी छोपेल, मुख्यमन्त्रीका राजनीतिक सचिव बिकास बस्नेत, सम्पर्क अधिकारी छेवाङ जिग्मी लाचुङ्पा, रिज पार्क व्यवस्थापन टोली तथा सम्बन्धित विभागका अधिकारीहरूले स्वागत गरेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल