सिक्किमको ५१औँ राज्य स्थापना दिवसमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न नेताहरूले शुभकामना दिए
सिक्किमको बुद्ध पार्क


नयाँ दिल्ली, १६ मे (हि.स.)। सिक्किमको ५१औँ राज्य स्थापना दिवसको अवसरमा राष्ट्रपति द्रौपदी मुर्मु , प्रधानमन्त्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष ओम बिरला सहित विभिन्न केन्द्रिय मन्त्रीहरूले राज्यवासीहरूलाई शुभकामना दिँदै सिक्किमका उपलब्धिहरूको प्रशंसा गरेका छन्। सिक्किम १६ मई, १९७५ मा औपचारिक रूपमा भारतको २२औँ राज्य बनेको थियो।

राष्ट्रपति मुर्मुले सामाजिक सञ्जाल एक्समार्फत दिएको सन्देशमा सिक्किम आफ्नो अद्भुत प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा तथा पर्यावरण संरक्षणप्रतिको दृढ प्रतिबद्धताका कारण देशका लागि दिगो विकासको आदर्श मोडेलका रूपमा उभिएको बताएकी छन्। उनले सिक्किमका जनतालाई आत्मीयता, सरलता र सद्भावनाका लागि परिचित रहेको उल्लेख गर्दै राज्य निरन्तर प्रगतितर्फ अघि बढिरहोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

प्रधानमन्त्री मोदीले सिक्किमवासीहरूलाई शुभकामना दिँदै भारतको विकासमा सिक्किमको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। उनले राज्यका जनताको उत्तम स्वास्थ्य र समृद्धिको कामना गरेका छन्। साथै, हालै राज्य स्थापना दिवस समारोहमा सहभागी हुन पाएको अवसर र सिक्किमेली जनताबाट प्राप्त आत्मीयता सधैं स्मरणीय रहने बताएका छन्। उनले केन्द्र सरकारले भविष्यमा पनि सिक्किमको विकासका लागि पूर्ण सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले सिक्किमलाई कञ्चनजङ्घाको प्राकृतिक छटा, जैविक विविधता तथा पूर्ण जैविक खेतीका कारण देशको विशिष्ट पहिचान भएको राज्य बताएका छन्। उनले स्वच्छता, पर्यटन र समृद्ध सांस्कृतिक सम्पदाका लागि प्रसिद्ध सिक्किमले देशको प्रगतिमा महत्वपूर्ण योगदान गरिरहेको बताए।

केन्द्रिय गृहमन्त्री‌ अमित शाहले एक्समार्फत सिक्किम विश्वकै पहिलो पूर्ण जैविक राज्यका रूपमा पर्वतीय पर्यटनलाई नयाँ पहिचान दिएको उल्लेख गर्दै राज्यका उपलब्धिहरूले सम्पूर्ण देशलाई प्रेरित गरेको बताएका छन्।

केन्द्रिय कृषि मन्त्री शिवराज सिंह चौहानले सिक्किमको प्राकृतिक सौन्दर्य, लोकसंस्कृति र परम्पराको प्रशंसा गर्दै राज्यवासीहरूलाई बधाई दिएका छन्। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्यले निरन्तर विकास र समृद्धि हासिल गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

केन्द्रिय मन्त्री गिरीराज सिंहले प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले भरिपूर्ण सिक्किम शान्ति र सद्भावको प्रतीक भएको उल्लेख गर्दै राज्य निरन्तर विकासको मार्गमा अघि बढिरहोस् भन्ने कामना गरेका छन्।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले पनि सिक्किम राज्य स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अद्भुत प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा र भाइचाराको प्रतीक सिक्किमले देशको प्रगतिमा महत्वपूर्ण योगदान गरिरहेको बताएकी छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande