
गुवाहाटी, 16 मई (हि.स.)। असममा बितेको 72 घण्टादेखिको लगातार परिरहेको पानी तथा हुन्डरीले जनजीवनलाई पूर्ण रूपले प्रभावित पारेको छ। विशेष गरी बराक उपत्याकामा वर्षाले ठूलो क्षय-क्षति पुऱ्याएको छ। अविरल वर्षाको कारणले कतिपय क्षेत्रहरूमा जलस्तर बढ़ेको छ भने सड़क एवं पुलहरूलाई व्यापक नोक्सान पुऱ्याएको छ।
कछार जिल्लाको बरखला नदीमा निर्माणाधिन पुलको एक भाग अचानक भत्किएर नदीमा समाहित भयो। यो पुल पुरन्दरपुर र बदरपुरलाई जोड़्नको लागि बनाइँदैथ्यो। भनिन्छ, लगभग 10 करोड़ रुपियाँको लागतमा यो पुल निर्माण हुनुथ्यो। तर लगातार परिरहेको पानी र पानीको तीव्र प्रवाहको कारणले पुलको एउटा ठूलो भाग भत्किएर पानीमा बग्यो जसबाट स्थानीय मानिसहरू चिन्तित भएका छन्।
यता छिमेकी हैलाकान्दी जिल्लामा पनि प्रकृतिको रौद्र रूप देख्न पाइयो। लगातार मुसलधारे पानी परिरहेकोले पाँच ग्राम र मुकाम कुटीलाई जोड़्ने आरसीसी पुल भत्कियो। पुल ध्वस्त भएपछि अब यी दुई क्षेत्रमाझ सम्पर्क विच्छिन्न भएको छ।
सूत्र अनुसार केही दिनदेखि जारी धारा प्रवाह वर्षाले गर्दा नदी एवं जलधाराहरूको जलस्तर निरन्तर बढ़िरहेको थियो। अत्यधिक दबावको कारणले पुल अचानक भत्कियो। यस मार्गमाथि निर्भर कतिपय गाउँहरूका हजारौं मानिसहरूको आवागमन प्रभावित भएकोछ। अहिलेघरि ग्रामीणहरूलाई यातायातको लागि ठूलो कठिनाईको सामना गर्न परिरहेको छ। दैनिक आवश्यकताका वस्तुहरूको आपूर्ति एवं आपतकालीन सेवाहरू पनि प्रभावित हुने आशङ्का व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा