
गान्तोक, 16 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमको ५१औँ राज्य दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण सिक्किमेली दाजुभाई तथा दिदी-बहिनीहरूमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले आजको दिन हामी सबैका लागि अत्यन्त गौरव, कृतज्ञता र उत्सवको क्षण रहेको बताउँदै भव्य हिमालय पर्वतमालाको आशीर्वाद, समृद्ध सांस्कृतिक परम्परा, तथा यहाँका जनताको आत्मीयता र दृढताले सिक्किमलाई शान्ति, सद्भाव, पर्यावरण संरक्षण तथा समावेशी विकासको एक उज्ज्वल उदाहरणको रूपमा स्थापित गरेको बताएका छन्।
मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा हालै सिक्किमको स्वर्ण जयन्ती वर्षको भव्य समापन समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले हामी सबैको हृदय गर्व र हर्षले भरिएको उल्लेख गरेका छन्। उक्त समारोहले सिक्किम भारत संघमा सामेल भएको ऐतिहासिक एकीकरणपछि एकजुट सिक्किमेली परिवारको रूपमा हामीले सँगै तय गरेको उल्लेखनीय यात्राको शक्तिशाली स्मरण गराएको बताएका छन्। उनले प्रधानमन्त्रीको भ्रमण केवल औपचारिक कार्यक्रम मात्र नभई विगत पाँच दशकमा हाम्रो राज्यले तय गरेको असाधारण यात्राको सम्मान र मान्यता पनि रहेको बताएका छन्।मुख्यमन्त्रीले भनेका छन्, 'सिक्किमको विकास यात्राको पहिलो चरण सडक, स्वास्थ्य सेवा, शिक्षा, जीविकोपार्जन, सामाजिक सुरक्षा तथा आधारभूत पूर्वाधारमा पहुँच सुनिश्चित गर्न केन्द्रित थियो। अब हाम्रो सामु रहेको जिम्मेवारी भनेको विस्तारबाट उत्कृष्टतातर्फ, पहुँचबाट गुणस्तरतर्फ, तथा निर्माणबाट दीर्घकालीन संरक्षण, दिगोपन र नवप्रवर्तनतर्फ अघि बढ्नु हो।' उनले यही दृष्टिकोणलाई आत्मसात गर्दै सरकारले सिक्किमका युवाहरूमा पहिलो, गुणस्तरीय शिक्षा, सीप विकास, उद्यमशीलता, नवप्रवर्तन तथा विश्वव्यापी अवसरहरूमा पहुँच विस्तार र दोस्रो, सिक्किमको खेलकुद क्षेत्रलाई प्रतिभा, अनुशासन र उत्कृष्टताको सशक्त मञ्चका रूपमा रूपान्तरणको कार्य गरिरहेको बताएका छन्।
मुख्यमन्त्रीले भने, 'खेल पूर्वाधार तथा प्रशिक्षण सुविधाहरूको विस्तारमा पनि उल्लेखनीय प्रगति हासिल गरिएको छ। राज्यमा हाल ४ वटा औद्योगिक प्रशिक्षण संस्थान (आईटीआई) मार्फत एनसीवीईटी-अनुरूप २८ वटा विभिन्न ट्रेडहरू सञ्चालनमा ल्याई संस्थागत संरचनालाई सुदृढ बनाइएको छ। साथै, क्षेत्रीय पहुँच विस्तार गर्न सोरेङ र पाकिम जिल्लामा थप दुई वटा आईटीआई स्थापना गर्ने कार्य पनि अघि बढिरहेको छ। सरकारले सिक्किमलाई क्षेत्रीय सम्पर्क तथा अन्तररराष्ट्रिय व्यापारको प्रवेशद्वारका रूपमा अझ सुदृढ बनाउन पनि महत्वपूर्ण कदमहरू चालिरहेको छ।'
मुख्यमन्त्री तामाङले राज्यवासीहरूको अथक योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै हामीले एकजुट भएर हासिल गरेको उपलब्धिप्रति गर्व महसुस गरेका छौँ, र अझ साहस, महत्वाकांक्षा तथा नयाँ संकल्पका साथ भविष्य निर्माण गर्न तयार भएका छौँ भनी बताएका छन्। उनले विगत पाँच दशकमा निर्माण गरिएका सुदृढ आधारमाथि अघि बढ्दै, अझ समृद्ध, दिगो, समावेशी तथा हरेक पुस्ताका लागि अवसरले भरिपूर्ण महान सिक्किम निर्माणतर्फ निरन्तर अग्रसर बनौँ भनी आह्वान गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल