
गान्तोक, 16 मई (हि.स.)। राज्य स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा राज्य सूचना तथा जन सम्पर्क विभागले आज राजधानीको एमजी मार्गमा विभागद्वारा प्रकाशित पुस्तकहरूको प्रदर्शनी तथा वितरण कार्यक्रम आयोजना गर्यो।
गान्तोकको केन्द्रस्थल एमजी मार्गमा आयोजित उक्त प्रदर्शनीमा पर्यटक, स्थानीयवासी तथा आगन्तुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सिक्किमको इतिहास, संस्कृति, सुशासन तथा विकास यात्रालाई समेटिएका विभिन्न प्रकाशनहरू प्रदर्शित गरिएको थियो। कार्यक्रममा विभागद्वारा प्रकाशित २,००० भन्दा बढी पुस्तक तथा सूचनामूलक सामग्री वितरण गरिएको विभागले जनाएको छ।
“५० वर्षे राज्यत्व उत्सव” थीममा आयोजित उक्त प्रदर्शनी सिक्किमको विगत पाँच दशकको ऐतिहासिक यात्रा, प्रगति तथा पहिचानलाई स्मरण गर्ने राज्य दिवस समारोहको एक हिस्सा थियो। यस कार्यक्रमले सूचनाको प्रवाह, दस्तावेजीकृत इतिहासको संरक्षण तथा नागरिकहरूमा पठन संस्कृतिको प्रवर्द्धनप्रति विभागको निरन्तर प्रयासलाई प्रतिबिम्बित गरेको थियो। साथै, यसले सिक्किमको सांस्कृतिक सम्पदा, विकास यात्रा तथा प्रशासनिक उपलब्धिहरूसम्बन्धी प्रकाशनहरूसँग जनतालाई प्रत्यक्ष रूपमा जोड्ने अवसर पनि प्रदान गर्यो।
यस प्रदर्शनीको संयोजन विभागका निर्देशक सुनिल मोथे र संयुक्त निर्देशक जीएस सुब्बाले विभागका अधिकारी तथा कर्मचारीहरूको सहकार्यमा गरेको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल