
गान्तोक, 16 मई (हि.स.)। भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन आज राजधानीको मनन केन्द्रमा आयोजित 51औं राज्य दिवस समारोहमा सहभागी बने। कार्यक्रममा सञ्चार तथा उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालयका मन्त्री ज्योतिरादित्य एम. सिन्धिया, राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राई विशेष रूपमा उपस्थित थिए।
समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति राधाकृष्णनले सिक्किमलाई सद्भाव, दिगोपना र अनुशासित जीवनको नमुना रहेको बताए। उनले राज्य स्थापना दिवस समारोहमा भाग लिन पाउँदा सम्मानित महसुस गरेको बताउॅंदै सिक्किमलाई कृषिमा मात्र नभई चरित्रमा पनि जैविक भनी वर्णन गरे।
गान्तोकसम्मको आफ्नो सडक यात्रालाई सम्झँदै उपराष्ट्रपतिले राज्यका जनतामा न्यानोपन, मर्यादा, स्वच्छता र नागरिक अनुशासन देखेको बताए। सिक्किमलाई प्रकृति, संस्कृति र शासनबीचको सद्भावको चम्किलो उदाहरण बताउॅंदै राज्यले विकास र पर्यावरणीय संरक्षण कसरी सँगै अगाडि बढ्न सक्छ भनेर उदाहरण प्रस्तुत गरेको बताए। उनले सिक्किमलाई यसको रणनीतिक महत्त्वको आधारमा 'राष्ट्रको प्रहरी' भनी वर्णन गरे।
राज्यको पर्यटन क्षेत्र र इको-टुरिज्म पहलहरूको प्रशंसा गर्दै उपराष्ट्रपतिले गान्तोकको एमजी मार्गलाई सरसफाई र नागरिक व्यवस्थापनको सन्दर्भमा देशको बाँकी भागको लागि उदाहरण बताए। उनले राज्य भ्रमण गर्ने पर्यटकहरूलाई स्थानीय संस्कृति, परम्परा र सरसफाई मापदण्डहरूको सम्मान गर्न आग्रह गरे। स्वच्छ भारत अभियानलाई उल्लेख गर्दै उनले भने, व्यवहार परिवर्तन निरन्तर जनसहभागिता र जागरूकता मार्फत बिस्तारै सामाजिक बानीमा विकसित हुन्छ।
उपराष्ट्रपतिले रेलवे विस्तार र पर्यटन पूर्वाधार परियोजनाहरू सहित राज्यको कनेक्टिभिटीको प्रशंसा गरे र निकट भविष्यमा फेरि सिक्किम भ्रमण गर्ने आशा व्यक्त गरे। आफ्नो सम्बोधनको अन्त्य गर्दै उनले सिक्किमका जनताको निरन्तर शान्ति, समृद्धि र प्रगतिको लागि शुभकामना व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल