
कोलकाता, 17 मई (हि. स.)। बिधाननगर नगरनिगम अधिनस्थ वार्ड सङ्ख्या-36 को बसन्ती देवी कलोनी क्षेत्रमा आइतवार बिहान तृणमूल कङ्ग्रेसको पार्टी कार्यालयबाट प्रचुर मात्रामा आधार कार्ड र जमीनसित सम्बन्धित दस्तावेजहरू फेला परेको मामिला प्रकाशमा आएको छ। घटनापछि क्षेत्रमा व्यापक खैलाबैला भएको छ।
स्थानीय मानिसहरू अनुसार दुई नम्बरको बसन्ती देवी कलोनी स्थित उक्त कार्यालय पछिल्लो लामो समदेखिकै बन्द थियो।
यस क्षेत्रमा पहिलाबाटै सरकारी जमीन र तलाउहरूलाई भरेर अवैध रूपमा जमीन किनबेच गरिएका सिकायतहरू उठ्दै आइरहेका छन्।
आइतवार बिहान शङ्काको आधारमा मानिसहरूले कार्यालयको ताला खोलेर भित्र हेर्दा त्यहाँ राखिएको अट्याची र फाइलहरूमा सयकड़ौं आधार कार्ड, पहिचान पत्र एवं सरकारी जमीनको किनबेचसित सम्बन्धित केही दस्तावेजहरू भेटियो।
घटनाको जानकारी स्थानीय मानिसहरूले बिधाननगर दक्षिण थानाको पुलिसलाई दिए। सूचना पाएको लगत्तै पुलिसले घटनास्थलमा पुगेर सबै दस्तावेजहरूलाई आफ्नो कब्जामा लिएर जाँच गर्न थाल्यो।
पुलिस सूत्र अनुसार जफत गरिएका दस्तावेजहरूको जाँच गरिँदैछ। आधार कार्य र अन्य दस्तावेजहरूमा नाम अङ्कित मानिसहरूलाई पछि थानामा बोलाएर सत्यापनपछि दस्तावेज फर्काइनेछ। हाल सम्बन्धित कार्यालयलाई सील गरिएको छ। पुलिसले सम्पूर्ण मामिलाको गम्भीर रूपमा जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा