
खरसाङ, 20 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को आयोजनामा खरसाङमा भएको विराट बिजय उत्सव ऱ्यालीमा खरसाङका जनता खुलेर बाहिर निस्केर साथ दिएकोमा भाजपा खरसाङले सम्पूर्ण खरसाङका जनतालाई धन्यवाद दिएको छ।
भाजपाले खरसाङमा आज एक पत्रकार सम्मेलन आयोजना गरेर बिजय उत्सव ऱ्यालीमा व्यापक समर्थनको लागि जनतालाई धन्यवाद दिएको छ। भाजपा दार्जिलिङ जिल्ला सचिव बिनय प्रसाद, मिडिया प्रभारी चन्दन प्रसाद, खरसाङ गिद्ध पहाडकी मण्डल सभापति एवं पञ्चायत समिति सदस्या दिक्षा तामाङले पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङका जनतालाई धन्यवाद दिए।
जिल्ला सचिव बिनय प्रसादले हिजोको ऐतिहासिक कार्यक्रमको लागि सबैलाई धन्यवाद दिए। उनले भने, हामी जनताको लागि विकास, पारदर्शिता र विश्वसनीयताको साथमा काम गर्नेछौँ। अव्यवस्थित पहाड र अव्यवस्थित बंगाललाई परिवर्तन गर्न जनताले मुख्य भूमिका निर्वाह गरेका छन् र अब जनताले परिवर्तन देख्नेछ।
उनले एक प्रश्नको उत्तरमा भने, अहिले जनताले नै के गर्नु र के नगर्नु भन्ने विषयमा सकारात्मक रुपमा सुझा दिइरहेका छन्। हामीले कुन मान्छे सही छ र भ्रष्टाचारमुक्त छ छानेर मात्र पार्टीमा स्वागत गरिरहेका छौं। अब हामी विशेष गरेर जनताको लागि तीनवटा कुराहरु विकास, पारदर्शिता र विश्वसनीयताको साथमा काम गर्नेछौँ।
जीटीए विषयमा सोधिएको प्रश्नमाको जवाफमा जीटीए चॉंडै खारेज हुने उनले बताए। सिलगढीमा मुख्यमन्त्रीले जीटीएमा भएको विभिन्न भ्रष्टाचारको सही जाँच गराएर दोषीहरुमाथि कार्वाही गरिने मुख्यमन्त्रीले बताएको उनले बताए।
हिन्दुस्थान समाचार / हनोक