(अपडेट) सोरेङका छ भाइद्वारा ‘एकता’ पुस्तकको विमोचन
पुस्तक लोकार्पण समारोह


सोरेङ, 17 मई (हि.स.)। सोरेङका एकै परिवारका छ भाइद्वारा रचित सामूहिक कृति ‘एकता’ को विमोचन आइतबार सिलगढीमा सम्पन्न भएको छ। उक्त पुस्तक एकता प्रकाशन, टिम्बुरबुङद्वारा प्रकाशित गरिएको हो।

विमोचन कार्यक्रममा साहित्यकार पीएल शर्मा, केपी शर्मा, जीके शर्मा, अरुण शर्मा, सीपी शर्मा र स्वर्गीय रुद्रमणी चालिसेको संयुक्त कृति ‘एकता’ सार्वजनिक गरियो। कार्यक्रममा सोरेङ-च्याखुङ क्षेत्रका विधायक आदित्य गोले प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

एकता प्रकाशन पश्चिम सिक्किमको सोरेङ जिल्लामा स्थापना भएको नयाँ प्रकाशन संस्था हो। संस्थाले आगामी दिनमा विभिन्न विधाका पुस्तकहरू प्रकाशन तथा लोकार्पण गर्ने योजना सार्वजनिक गरेको छ। साथै, प्रकाशनले आफ्ना माता-पिताको स्मृतिमा यसै वर्षदेखि केदार-थलरुपा स्मृति पुरस्कार सुरु गरेको जानकारी दिएको छ। उक्त पुरस्कार प्रत्येक वर्ष साहित्य, कला तथा समाजसेवाजस्ता विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने सिक्किमे नागरिकहरूलाई प्रदान गरिने बताइएको छ।

उल्लेखनीय छ, पाँचै जना लेखकहरू लामो समयदेखि साहित्य सेवामा सक्रिय रहँदै आएका छन्। साहित्यकार सीपी शर्मालाई हालै साहित्य अकादमी पुरस्कारबाट पनि सम्मानित गरिएको छ।

समारोहलाई सम्बोधन गर्दै विधायक आदित्य गोलेले एकै परिवारका पाँच सदस्यद्वारा पुस्तक विमोचन हुनु केवल उक्त परिवारको उपलब्धि मात्र नभई सम्पूर्ण नेपाली साहित्य जगतका लागि गर्वको विषय भएको बताए। उनले यसलाई भाइचाराको भावना र सांस्कृतिक एकताको उत्कृष्ट उदाहरणका रूपमा उल्लेख गरे। साथै, साहित्य केवल साहित्यकारसम्म सीमित नहुने, समाज र राजनीतिलाई समेत सही दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने माध्यम भएको उनको भनाइ थियो। आजका युवाहरू मनोरञ्जन र मेलातर्फ बढी आकर्षित भइरहेका बेला साहित्यले समाजको वास्तविक अवस्था उजागर गर्दै सकारात्मक परिवर्तनको बाटो देखाउने काम गर्ने उनले बताए।

कार्यक्रममा बोल्दै लेखक तथा साहित्यकार सीपी शर्माले आफू साहित्यिक क्षेत्रमा गहिरो रुचि राख्ने भएकाले निरन्तर लेखन कार्यमा संलग्न रहँदै आएको जानकारी दिए। उनले आफ्ना दाजुभाइपछि आगामी पुस्ता अर्थात् छोराछोरीलाई पनि लेखनतर्फ प्रेरित गरिएको उल्लेख गर्दै परिवारले भविष्यमा पनि समाजलाई नयाँ साहित्यिक कृतिहरू प्रदान गर्दै जाने विश्वास व्यक्त गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande