
उत्तर दिनाजपुर, 17 मई (हि. स.)। पश्चिम बङ्गालको इटाहारमा सरकारी योजनाको लाभ दिलाउने नाममा लाखौं रुपियाँ ठगेको आरोपमा तृणमूल कङ्ग्रेसका एकजना स्थानीय नेतालाई पुलिसले पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको पहिचान इटाहार ब्लक तृणमूल अध्यक्ष तथा जिल्ला परिषदका कृषि कर्माध्यक्ष कार्तिकचन्द्र दासको रूपमा भएको छ।
पुलिस अनुसार आरोपीलाई गए शनिवार अबेर राति इटाहार थाना क्षेत्रको चुड़ामण क्षेत्रस्थित निजी घरबाट पक्राउ गरिएको हो। मामिलाको सिकायत लालगञ्ज निवासी कुरबान अलीले दर्ता गराएका थिए। उनले आरोप लगाएका छन्, उनको जमीनमा सरकारी परियोजना अन्तर्गत सोलर पम्प लगाइदिने प्रलोभन देखाएर कार्तिक दासले उनीबाट ठूलो रकम असुले। तर धेरै दिनपछि पनि पम्प लगाइदिएनन् न त पैसा नै फिर्ता दिए।
बारम्बार माग गर्दा पनि पैसा फिर्ता नपाएपछि पीड़ितले थानामा लिखित सिकायत दर्ता गराए जसको आधारमा पुलिसले तुरून्त कारबाही गर्दै आरोपीलाई पक्राउ गऱ्यो। आइतवार आरोपीलाई रायगञ्ज जिल्ला अदालतमा पेश गरी रिमाण्डको माग गरिएको छ। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा