
खरसाङ, 17 मई (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्ट (आईजीजेएफ) का केन्द्रिय सदस्य एवं प्रवक्ता आरके शर्माले पार्टीबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र आईजीजेएफका केन्द्रिय संयोजक अजय एडवर्ड्सलाई पठाएका छन्। उनले पत्रमा आफ्नो पद लगायत साधारण सदस्यताबाट राजीनामा दिइरहेको उल्लेख गरेका छन्।
शर्माले भनेका छन्, 'जुन सोच एवं विचार लिएर म पार्टीमा आएको थिएँ, समयसँगै त्यो पूर्ण रुपमा मेल खान नसकेको महसुस मैले गरेको छु। पार्टीको कार्यशैली, पार्टीको विचार तथा कथनी र करनीमा देखिएको भिन्नता, पूर्ण निष्ठा एवं इमानदारिताका साथ काम गर्दा पनि त्यसको उचित मूल्यांकन नभएको अनुभव साथै पार्टीभित्र बढ्दो एकल निर्णय र एकल नीतिका कारण मैले यो निर्णय लिन बाध्य भएको हुँ।'
उनले चुनाउ अघि नै राजीनामा दिन चाहेको, तर पार्टीलाई कुनै प्रकारको क्षति नहोस् भन्ने सोचले आफ्नो निर्णय रोकेको दाबी गरेका छन्। उनले चुनाउ सम्पन्न भइसकेकाले अब आफ्नो समय आफ्नो परिवार तथा आफ्नो ठाउँ खरसाङको हित र सेवामा समर्पित गर्ने बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक