
गान्तोक, 17 मई (हि.स.)। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले राजधानीको लोक भवनमा उपराष्ट्रपति सीपी राधाकृष्णनलाई भेटेर राज्यको ५१औं राज्य स्थापना दिवस समारोहमा मुख्य अतिथिको रूपमा उपस्थितिका लागि हार्दिक कृतज्ञता व्यक्त गरे। यस अवसरमा सांसद सुब्बाले उपराष्ट्रपतिलाई सिक्किम सम्बन्धित विभिन्न मागहरू लिएर एउटा ज्ञापन पत्र पनि पेश गरे।
सांसद कार्यालयद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, सांसद डा. इन्द्रहाङ सुब्बाले उपराष्ट्रपति सीपी राधाकृष्णनलाई उपस्थितिको लागि हार्दिक आभार व्यक्त गरे। उनले उपराष्ट्रपतिको भ्रमणले सिक्किमका जनतालाई गहिरो रूपमा प्रोत्साहित गरेको तथा राष्ट्रको लोकतान्त्रिक र संवैधानिक ढाँचाभित्र राज्यको महत्त्वलाई प्रतिबिम्बित गरेको उल्लेख गरेका छन्।
उनले विगत पाँच दशकमा सिक्किमले हासिल गरेको उल्लेखनीय प्रगतिमाथि प्रकाश पार्दै आफ्नो समृद्ध पारिस्थितिक सम्पदा, रणनीतिक महत्व, सांस्कृतिक विविधता र शिक्षित युवा जनसंख्या मार्फत विकसित भारत २०४७ को दृष्टिकोणमा अर्थपूर्ण योगदान पुर्याउने सिक्किमको प्रतिबद्धता दोहोऱ्याए। राज्यसभाका अध्यक्ष समेत रहेका उपराष्ट्रपति समक्ष उनले सिक्किमका जनताका लम्बित आकांक्षा र सरोकारहरू पनि राखेका थिए।
यस क्रममा सांसद सुब्बाले १२ छुटेका समुदायहरूलाई अनुसूचित जनजातिको सूचीमा समावेश गर्ने, सिक्किम विधानसभामा लिम्बू र तामाङ अनुसूचित जनजातिका लागि सिट आरक्षण गर्ने र परम पावन १७औं कर्मापाको सिक्किम भ्रमण जस्ता महत्त्वपूर्ण मुद्दाहरूमाथि प्रकाश पारे। उनले यी केवल राजनीतिक मामिला होइनन्, तर राज्यका जनताको पहिचान, भावना, ऐतिहासिक न्याय र संवैधानिक आकांक्षासँग गहिरो रूपमा जोडिएका मुद्दाहरू रहेको अवगत गराए।
उनले धारा ३७१एफ मार्फत ग्यारेन्टी गरिएको विशेष संवैधानिक सुरक्षा र १९७३ को ऐतिहासिक ८ मई सम्झौताको भावना अन्तर्गत सिक्किमको विशिष्ट पहिचान, जनसांख्यिकीय सन्तुलन, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षणको महत्त्वलाई पनि दोहोर्याए। उनले सिक्किमका जनताका यी लामो समयदेखिका आकांक्षाहरू पूरा गर्न उपराष्ट्रपतिको कार्यालयबाट सबै सम्भव सहयोग र सद्भाव प्रदान गर्न विनम्रतापूर्वक अनुरोध गरे।
हिन्दुस्थान समाचार / बिशाल