
खरसाङ, 17 मई (हि.स.)। खरसाङ महकुमा खेलकूद संघका एक कर्मठ सदस्य एवं खेलप्रति विशेष चासो राख्ने व्यक्ति बसन्त सिंहको निधन भएको छ। 16 मई राति अस्पताल लैजाने क्रममा ह्रदयघातका कारण उनको निधन भएको बताइएको छ।
खरसाङ रेलवे प्रेसबाट अवकाश ग्रहण गरेका स्व. सिंह खरसाङ महकुमा खेलकूद संघका कोषाध्यक्ष थिए। उनी विभिन्न संघ संस्थाहरुसित पनि आबद्ध थिए जस्तै, लोटस क्लब, गोर्खा सांस्कृतिक संस्थान आदि।
खरसाङ महकुमा खेलकूद संघका अध्यक्ष मोहन योन्जनले बसन्त सिंहको निधन संघको निम्ति अपूर्णनीय क्षति बताएका छन्। उनले स्व. सिंह निष्ठावान र कोषाध्यक्षको रुपमा एक अनुशासित व्यक्ति थिए भनी बताए।
संघका सचिव निर्मल गुरुङले भने, 'मैले आज फेरि एउटा दाजु घुमाए। स्व बसन्त सिंह दाजुको बोली अलिक खस्रो थियो। सोझै बोल्थे, तर मनमा भने कुनै पाप थिएन। उहॉं कामको पक्का व्यक्ति हुनुहुन्थ्यो। उनले संघका सम्पूर्ण सदस्यहरु उनको आकस्मिक निधनले मर्महात बनेको बताए।
हिन्दुस्थान समाचार / हनोक