
खरसाङ, 17 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को भातृ संगठन गोर्खा युवा मोर्चा खरसाङ महकुमा समितिको सांगठनिक सभा आज खरसाङको एक स्थानीय होटलमा सम्पन्न भयो। उक्त सभाको अध्यक्षता युवा मोर्चा खरसाङ महकुमा समितिका सभापति सत्यवान छेत्रीले गरेको थियो। सभामा खरसाङ महकुमा अन्तर्गत आठवटा समष्टिका युवा मोर्चा प्रतिनिधिहरुको उपस्थिति थियो।
सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै सभापति सत्यवान छेत्रीले आजको सभामा युवा मोर्चाको सांगठनिक गतिविधि र आगामी रणनीति विषयमा चर्चा परिचर्चा गरिएको बताए। साथै, पार्टी अध्यक्ष बिमल गुरुङमाथि भइरहेको विभिन्न टिप्पणीहरु विषयमा प्रतिउत्तर दिनु पनि सभाको आयोजना गरिएको बताए।
उनले प्रत्येक समष्टिमा युवा मोर्चाको कमिटी गठन भइरहेको बताए। उनले भने, यसपाली डबल इञ्जिनको सरकार गठन भएको छ। यस सरकारमाथि धेरै आशा छ। हामी गोर्खाल्याण्ड नै चाहन्छौं र गोर्खाल्याण्डको निम्ति युवाहरु सदैव तयार छन्।
उनले पार्टी अध्यक्ष बिमल गुरुङमाथि भइरहेका विभिन्न टिप्पणीहरु विषयमा बोल्दै भने, 2017 को आन्दोलन बिथोल्नेहरूलाई थुक्दा पाप काटिन्छ होला। यहाँ नाम बिनय तामाङ र अनित थापाको मात्र आइरहेको छ। तर, यसमा आलोककान्तमणि थुलुङ पनि हुन्। यसको साक्षी म आफै हुँ। उनले मिडियामा आएर जनतालाई धम्काउने काम नगर्नु। खरसाङ युवा मोर्चा तपाईको धम्कीदेखि डराउँदैन। अध्यक्ष बिमल गुरुङमाथि जे पायो त्यही टिप्पणी गरेको राम्रो होइन।
हिन्दुस्थान समाचार / हनोक