
सोरेङ, 19 मई (हि.स.)। जिल्ला स्तरीय डिकन्जेसन समिति सोरेङले आज सोरेङ नगर पञ्चायत अन्तर्गतका विभिन्न क्षेत्रहरूमा सड़कको अवस्था तथा ट्राफिक व्यवस्थापनसम्बन्धी समस्याहरूको अध्ययन तथा मूल्याङ्कन गर्न पहिलो निरीक्षण कार्यक्रम सञ्चालन गरेको छ। उक्त निरीक्षण तीन वटा छुट्टाछुट्टै टोलीमार्फत सम्पन्न गरिएको बताइएको छ।
सोरेङका अतिरिक्त जिल्लापाल डीआर बिष्टाको नेतृत्वमा रहेको टोलीले प्रगति चौकदेखि एस-टर्निङसम्मको सड़क खण्ड निरीक्षण गऱ्यो। त्यसैगरी, महकुमा न्यायाधिकृत प्रेम के. सुब्बाको नेतृत्वमा रहेको टोलीले भीर डाँड़ादेखि च्याखुङ गेटसम्मको क्षेत्रको निरीक्षण गऱ्यो भने महकुमा न्यायाधिकृत सोरेङ साक्छुम लेप्चाको नेतृत्वमा रहेको टोलीले डाँडा बजारदेखि घण्टी खोला, सिङ्गलिङ्गसम्मको सड़क खण्डको निरीक्षण गरेको थियो।
निरीक्षणका क्रममा टोलीहरूले सड़कहरूको विस्तृत नापजाँच गर्नुका साथै सम्बन्धित मार्गहरूमा भएका अतिक्रमणहरूको अवस्थाबारे पनि अध्ययन गरे। साथै, पार्किङ व्यवस्थाका लागि उपयुक्त स्थानहरूको पहिचान, सार्वजनिक जमिनमा भएका अतिक्रमणहरूको जाँच तथा त्यस्ता अतिक्रमणहरूको संख्या र प्रकृतिको मूल्याङ्कन समेत गरिएको थियो।
निरीक्षण कार्यक्रममा सोरेङ नगर पञ्चायतकी अध्यक्ष दीना हाङ्मा सुब्बा, नगर पञ्चायतका सदस्यहरू, अतिरिक्त पुलिस अधीक्षक पर्शुराम शर्मा, पुलिस अधिकारी सन्त बहादुर गुरुङ, सड़क एवम् पुल विभागका अधिकारीहरू, मोटर वाहन निरीक्षकहरू तथा विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।
हिन्दुस्थान समाचार / बिशाल