
सिलगढ़ी, 20 मई (हि.स.)। “पहाड़ एवं उत्तर बङ्गालले नै सबैभन्दा पहिला भारतीय जनता पार्टी (भाजपा)-लाई स्थान दिएको हो। बङ्गाललाई बचाउनमा तपाईहरू सबैको ठूलो भूमिका रहेको छ। हामी विकासको माध्यमबाट यो ऋण तिर्नेछौं।” बागडोगरा एयरपोर्टमा आइपुग्नसाथ मुख्यमन्त्री शुभेन्दु अधिकारीले उत्तर बङ्गालका मानिसहरूलाई यस किसिमको महत्वपूर्ण सन्देश दिए।
मुख्यमन्त्रीले स्पष्ट रूपमा भने, सङ्कल्प पत्रका सबै वाचाहरूलाई पूरा गरिनेछ अनि उत्तर बङ्गालका मानिसहरूको सपनालाई साकार पारिनेछ। पछिल्लो लामो समयदेखिको उपेक्षित यस क्षेत्रका अधिकारहरूलाई प्राथमिकता दिएर फर्काइनेछ।
प्रशासनिक विकेन्द्रीकरणको दिशामा ठूलो निर्णय लिँदै मुख्यमन्त्रीले घोषणा गरे, अब प्रत्येक महिना राज्य मन्त्रीमण्डलले उत्तर बङ्गालमा बैठक गर्नेछ। साथै उत्तर बङ्गाल विकास मन्त्रीले प्रत्येक साता न्यूनतम पनि एक दिन उत्तरकन्यामा बसेर काम गर्नेछन्।
सिलगढ़ीको उत्तरकन्यामा भइरहेको यस महत्वपूर्ण बैठकलाई लिएर सम्पूर्ण उत्तर बङ्गाल उत्साहित भएको छ। थाँतीमा रहेका विकास कार्यहरूलाई द्रूत गतिमा पूरा गर्नु एवं पहाड़देखि लिएर मैदानसम्मका मानिसहरूको आशामा खरो उत्रिनु नै नयाँ सरकारको मुख्य लक्ष्य हो।
यसअघि बागडोगरा एयरपोर्टमा मुख्यमन्त्रीलाई भव्य स्वागत गरियो जहाँ मन्त्री निशीथ प्राामाणिक र दार्जीलिङका सांसद राजू बिष्ट पनि उपस्थित थिए।
राजनीतिक परिवर्तन पश्चात उत्तर बङ्गालमा यो पहिलो हाई-प्रोफाइल प्रशासनिक बैठक आयोजना भइरहेको छ जसलाई लिएर मिनी शाखा सचिवालय ‘उत्तरकन्या’- लाई विशेष रूपमा सजाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा