
नगाउँ (असम), 27 मई, (हि.स.)। असमको नगाउँ जिल्ला अन्तर्गत रङ्गलु क्षेत्रमा भएको एक भयङ्कर सड़क दुर्घटनामा दुई जना बाइक सवार मानिसहरूको घटनास्थलमै मृत्यु भयो भने दुई जना महिला बटुवाहरू गम्भीर रूपमा घाइते भए।
पुलिसबाट बुधवार प्राप्त जानकारी अनुसार बितेको मङ्गलवार राती ईदको किनमेल गरेर घर फर्किने क्रममा यो दुर्घटना भएको हो। द्रूत गतिको बाइकले सड़कमा हिँड़िरहेका दुई जना महिला बटुवाहरूलाई ठक्कर दियो जसपश्चात बाइक अनियन्त्रित भएर डिभाइडरसित ठोक्कियो।
दुर्घटना यतिसम्म भयानक थियो कि बाइक सवार दुवै युवकको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान रकिबुल हुसैन र इक्रामुल हकको रूपमा भएको छ। घाइते दुवै महिलालाई गम्भीर अवस्थामा नगाउँ सिभिल अस्पतालमा भर्ती गरिएको छ।
घटना भएको सूचना पाए लगत्तै पुलिस घटनास्थलमा पुग्यो अनि सम्पूर्ण मामिलाको जाँच गर्न शुरू गऱ्यो। दुर्घटनाग्रस्त बाइकको नम्बर अहिलेसम्म थाहा पाउन सकिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा