
सोरेङ, 28 मई (हि.स.)। केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावत आफ्नो दुई दिवसीय भ्रमणमा बिहिवार सिक्किम आइपुगेका छन्। आफ्नो भ्रमणको पहिलो दिन आज उनले सोरेङ जिल्लाको भ्रमण गरे। भ्रमणका क्रममा केन्द्रिय मन्त्रीले समीक्षा बैठकहरूमा भाग लिए तथा जिल्लाको पर्यटन सम्भावना र विकास सम्भावनाहरूको मूल्याङ्कन गर्न स्थानीय युवा र पर्यटन सरोकारवालाहरूसँग अन्तरक्रिया गरे।
यसैगरी, केन्द्रिय मन्त्रीले रिन्चेनपोङको साङ गाग याङ्त्जे गुम्पा, मेघी डॉंडामा रिन्छेन छोलिङ गुम्पा, श्रीबदाममा रहेको ट्राउट फार्मिङ सेन्टर र श्रीबदाम झरना सहित धेरै प्रमुख धार्मिक र पर्यटन स्थलहरूको भ्रमण गरे। भ्रमणले जिल्लाको समृद्ध सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र बढ्दो पारिस्थितिक पर्यटन सम्भावनालाई उजागर गरेको छ।
केन्द्रिय मन्त्रीले पर्यटन प्रवर्द्धनको महत्त्वलाई उजागर गर्दै दृश्यता बढाउन र राज्यमा थप आन्तरिक र अन्तरराष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न डिजिटल प्लेटफर्महरू मार्फत सिक्किमका पर्यटन स्थलहरूलाई प्रभावकारी रूपमा बजारीकरण गर्ने आवश्यकतामा जोड दिए।
भ्रमण अवधि सोरेङका जिल्लापाल धीरज सुवेदीले केन्द्रिय मन्त्रीलाई सोरेङ जिल्लाको समग्र विकास प्रोफाइलको बारेमा जानकारी गराए। उनले इको-टुरिज्म, दिगो पर्यटन र जिल्लाको सांस्कृतिक तथा परम्परागत सम्पदाको संरक्षणको प्रवर्द्धनका लागि जिल्ला प्रशासनका पहलहरूको बारेमा बताए। सोरेङ जिल्लाको भ्रमणका लागि जिल्लापालले केन्द्रिय मन्त्रीप्रति आभार व्यक्त गरे।
भ्रमण अवधि विधायक इरुङ तेन्जिङ लेप्चा, विधायक आदित्य गोले, विधायक सुदेश सुब्बा लगायत अन्यहरू पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / बिशाल