राष्ट्रपति मुर्मूले पिङ्क सिटी रनर बसहरू शुभारम्भ गरिन्, यात्रुहरूले नियमित भाडाको आधा मात्र तिर्नुपर्ने
राष्ट्रपति मुर्मूले पिङ्क सिटी रनर बसहरू शुभारम्भ गरिन्


गान्तोक, 27 मई (हि.स.)। भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राजधानीको रिज पार्कमा पिङ्क सिटी रनर बस सेवाको शुभारम्भ गरिन्। 'आमा-दिदी-बहिनी बस सेवा' को नामले पनि चिनिने यस सुविधाले गान्तोकमा महिलाहरूका दैनिक यात्रालाई सुरक्षित, थप भरपर्दो र सस्तो बनाउने लक्ष्य राखेको छ।

राष्ट्रपति द्रौपदी मुर्मू मंगलवार तीन दिवसीय भ्रमणमा सिक्किम आएकी छन्। भ्रमणको दोस्रो दिन आज बिहान उनको भारत-चीन सीमा नथुला पास भ्रमण कार्यक्रम थियो, जुन प्रतिकुल मौसमका कारण रद्द भयो। दिउॅंसो राजधानीमा सिक्किम विश्वविद्यालयको ७औं दीक्षान्त समारोहमा सहभागी बन्न अघि राष्ट्रपतिले यहॉंको रिज पार्कमा पिङ्क सिटी रनर बस सेवाको शुभारम्भ गरिन्। यस अवधारणाको घोषणा मुख्यमन्त्री प्रेमसिंह तामाङले अक्टोबर २०२५ मा गरेका थिए।

महिलाहरूका लागि समर्पित यस यातायात सेवाको शुरुवात सिक्किम सरकारले गरेको हो, जसलाई 'आमा-दिदी-बहिनी बस सेवा पनि भनिन्छ'। यस सेवाले गान्तोक भित्रको दैनिक यात्रालाई महिला यात्रुहरूका लागि सुरक्षित, थप भरपर्दो र सस्तो बनाउने लक्ष्य राखेको छ। यो सेवा रानीपूलदेखि टाशीलिङ सचिवालयसम्मको मार्गमा सञ्चालन हुनेछ।

यो बस सेवा पूर्ण रूपमा महिला चालक र कन्डक्टरहरूद्वारा सञ्चालित छ र विशेष गरी महिला यात्रुहरूलाई सेवा प्रदान गर्नेछ। यसलाई यात्रु सुरक्षा र महिलाहरूका लागि थप सुविधाजनक यात्रा अनुभवमा ध्यान केन्द्रित गर्दै डिजाइन गरिएको छ। सार्वजनिक यातायातको व्यापक प्रयोगलाई प्रोत्साहन गर्न यात्रुहरूले नियमित भाडाको आधा मात्र भुक्तान गर्नु पर्नेछ भने बाँकी रकम राज्य सरकारले सब्सिडीको रूपमा दिनेछ।

यो पहलले सुरक्षित यातायातमा पहुँच सुधार गर्नुका साथै परम्परागत रूपमा पुरुषहरूको वर्चस्व रहेको सार्वजनिक यातायात क्षेत्रमा महिलाहरूको लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ। पिङ्क सिटी रनरको शुरुवात महिला सशक्तिकरण, समावेशी विकास र कल्याणकारी शासनमा राज्य सरकारको निरन्तर ध्यान अनुरुप रहेको बताएको छ।

पिङ्क सिटी रनर शुभारम्भ समारोहमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, यातायात विभागका सल्लाहकार मदन सिन्चुरी, सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङ, गृह (प्रोटोकल) बेनु गुरुङ, सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्णा आले तथा अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande