
गान्तोक, 27 मई (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले आज आफ्नो सात वर्षको कार्यकाल पूरा गरेको छ। एसडीएफ पार्टीको सरकारलाई चुनाउमा अपदस्थ गर्दै 27 मई, 2019 मा एसकेएमले राज्यको बागडोर आफ्नो जिम्मामा लिएको थियो। यस अवसरमा एसकेएम पार्टीले हर्ष व्यक्त गर्दै सिक्किमका जनतालाई हार्दिक बधाई तथा आभार व्यक्त गरेको छ।
एसकेएम पार्टीले बुधवार जारी प्रेस बयानमा भनेको छ, 'सिक्किम क्रान्तिकारी मोर्चाले मुख्यमन्त्री प्रेमसिंह तामाङको गतिशील नेतृत्वमा 27 मई, 2019 मा पदभार ग्रहण गरेदेखि 7 वर्ष सफलतापूर्वक पूरा गरेकोमा सिक्किमका जनतालाई हार्दिक बधाई र आभार व्यक्त गर्दछ।'
एसकेएमले भनेको छ, 'यो उपलब्धि 2009 मा शुरु भएको लामो र दृढ सङ्घर्षको गर्वको सम्झना हो, जब हजारौं क्रान्तिकारीहरू सिक्किममा लोकतान्त्रिक परिवर्तन ल्याउन र साँच्चै जनमुखी सरकार स्थापना गर्न एउटै दृष्टिकोणका साथ एकजुट भएका थिए। यो यात्रा चुनौतीहरू, बलिदानहरू र कठिनाइहरूले भरिएको थियो, तर जनताको अटल विश्वास, प्रतिबद्धता र दृढ संकल्पले यो ऐतिहासिक परिवर्तन सम्भव बनायो।'
एसकेएमले सिक्किमका जनताको आशीर्वाद र विश्वासका साथ २०१९ को ऐतिहासिक जनादेशले परिवर्तन सरकार गठनको लागि मार्ग प्रशस्त गरेको र विगत सात वर्षदेखि जनताको सेवा गर्न इमानदारी र समर्पणका साथ अथक प्रयास गरिरहेको बताएको छ। एसकेएम सरकारले सबै समुदायहरूबीच साम्प्रदायिक सद्भाव र एकतालाई सुदृढ पार्न, सिक्किमको समृद्ध सांस्कृतिक पहिचानलाई बढावा दिन र संरक्षण गर्न, पर्यटन प्रवर्द्धन गर्न, युवा र महिलाहरूलाई सशक्त बनाउन, स्वास्थ्य सेवा र शिक्षामा सुधार गर्न, उद्यमशीलतालाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ।
मुख्यमन्त्री प्रेमसिंह तामाङले टीम सिक्किम को रूपमा अगाडि बढ्ने दूरदर्शी आह्वान गरेको बताउॅंदै यो भावना सिक्किमको निरन्तर प्रगतिको पछाडिको प्रेरक शक्ति बनेको एसकेएमले प्रेस बयानमा बताएको छ। एसकेएम पार्टीले सिक्किमका जनताप्रति उनीहरूको निरन्तर विश्वास र आशीर्वादको लागि कृतज्ञता व्यक्त गरेको छ। यसरी नै एसकेएमले प्रधानमन्त्री नरेन्द्र मोदी र सिक्किमका राज्यपाल ओमप्रकाश माथुरलाई उनीहरूको निरन्तर मार्गदर्शन र समर्थनको लागि हार्दिक आभार व्यक्त गरेको छ।
हिन्दुस्थान समाचार / बिशाल