
सोनादा, 27 मई (हि.स. )। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) सोनादा टाउन कमिटीद्वारा एक महत्वपूर्ण सांगठनिक सभा बुधबार स्थानीय भालुटार सार्वजनिक भवनमा सम्पन्न भयाे। उक्त सभा सोनादा टाउन कमिटीका अध्यक्ष रूस्तम छेत्रीको अध्यक्षतामा सम्पन्न भयाे। सभामा कमिटीका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभालाई सञ्चालन गर्दै मुख्य सचिव शुद्ध जिम्बाले सभाको उद्देश्य तथा यसको महत्वबारे प्रकाश पारे। उनले संगठनलाई अझ सशक्त बनाउँदै जनस्तरसम्म पार्टीको पहुँच विस्तार गर्न यस्ता बैठकहरूको महत्वपूर्ण भूमिका रहने बताए।
सभालाई सम्बोधन गर्ने क्रममा गोरामुमो सोनादा पचेङ समष्टि अध्यक्ष भुपेन गुरुङले वर्तमान राजनीतिक स्थितिबारे विस्तृत कुरा राख्दै पार्टीको प्रमुख राजनीतिक मुद्दा “छैटौं अनुसूची- आर्टिकल 244(2)” को विशेषता तथा यसको आवश्यकता सम्बन्धमा उपस्थित सदस्यहरूलाई जानकारी गराए। उनले गोर्खा समुदायको स्थायी राजनीतिक समाधानका निम्ति पार्टी निरन्तर संघर्षरत रहेको उल्लेख गरे।
सोनादा टाउन कमिटीका अध्यक्ष रूस्तम छेत्रीले संगठनलाई अझ मजबुत तथा प्रभावकारी बनाउन सम्पूर्ण सदस्यहरूबीच आपसी सहयोग, समन्वय र सक्रियताको आवश्यकता रहेको बताए। उनले आगामी दिनहरूमा संगठनात्मक विस्तारलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी 7 जून, 2026 मा हुने पार्टी अध्यक्ष मन घिसिङको सोनादा भ्रमण कार्यक्रमलाई भव्य तथा ऐतिहासिक रूपमा सफल बनाउन सम्पूर्ण कार्यकर्ता तथा समर्थकहरूलाई एकजुट भएर लाग्न विनम्र अपील गरे।
हिन्दुस्थान समाचार / हनोक