
पूर्व मेदिनीपुर, 27 मई (हि.स.)। पूर्व मेदिनीपुर जिल्लामा एकजना तृणमूल कङ्ग्रेस नेताको निजी गोदामबाट प्रचुर मात्रामा सरकारी राहत सामग्री फेला परेको घटनापछि स्थानीय स्तरमा राजनीतिक खैलाबालै तीव्र भएको छ। भाजपा कार्यकर्ताहरूले आरोप लगाएका छन्, सरकारी राहत सामग्री चोरी गरेर तृणमूल नेताको गोदाममा राखिएको थियो।
जानकारी अनुसार गए मङ्गलवार राती चण्डीपुर थाना पुलिसले ब्रजलचक क्षेत्रमा एउटा अभियान सञ्चालन गऱ्यो। अभियान अवधि स्थानीय भाजपा विधायकको उपस्थितिमा क्षेत्रीय तृणमूल कङ्ग्रेस अध्यक्ष नवकुमार बेराको निजी गोदामबाट लगभग 6 सय वटा सरकारी तिरपाल र अन्य राहत सामग्रीहरू जफत गरियो। पुलिसले यस मामिलामा अनुसन्धान गरिरहेको छ।
यसअघि पनि राज्यका विभिन्न जिल्लाहरूमा तृणमूल नेताहरूको घर अनि पार्टी कार्यालयहरूबाट सरकारी राहत सामग्री भेटिएको आरोप उठिसकेको छ। अब पूर्व मेदिनीपुरमा पनि यस किसिमको घटना भएकोले राजनीतिक माहोल तातिएको छ।
एगराका भाजपा विधायक दिव्येन्दु अधिकारीले तृणमूललाई लक्षित गर्दै भने, वर्ष 2021- मा कान्थी नगरपालिकाबाट तिरपाल चोरी भएको मामिलामा अधकारी परिवारमाथि आरोप लगाइएको थियो, तर अहिले तृणमूल नेताहरूको गोदामबाटै सरकारी तिरपाल जफत गरिरहेको छ। उनले भने, यसबाट दोषी को हो भन्ने कुरा स्पष्ट भइरहेको छ।
तथापि यस मामिलामा तृणमूल कङ्ग्रेसको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा