
गान्तोक, 28 मई (हि.स.)। नाम्चेबुङ निर्वाचन क्षेत्रका छजना महिलाहरू आज गान्तोकमा औपचारिक रूपमा भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन्। नयाँ सदस्यहरूलाई प्रदेश अध्यक्ष डीआर थापा, महिला मोर्चाकी उपाध्यक्ष जस्माया राई, पञ्चायती राज सेलका संयोजक किशोर कुमार राई तथा अन्य पार्टी पदाधिकारीहरूले हार्दिक स्वागत गरे।
भाजपा प्रचार शाखााका अनुसार, सामेल हुने महिलाहरूमा कल्पना राई, सङ्गीता गुरुङ, बिन्दु राई, बिपना छेत्री, रेश्मा सुब्बा र मीरा बस्नेत रहेका छन्। भाजपाको विचारधारा तथा विकासमुखी कार्यक्रमप्रति गहिरो विश्वास व्यक्त गर्दै नवप्रवेशी सदस्यहरूले प्रधानमन्त्री नरेन्द्र मोदी तथा राज्य नेतृत्वको गतिशील र दूरदर्शी नेतृत्वमा “विकसित सिक्किम” को परिकल्पना साकार पार्न समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
प्रदेश अध्यक्ष थापाले महिलाहरूको साहसी निर्णयको प्रशंसा गर्दै महिला सशक्तीकरण र समावेशी विकासप्रति पार्टीको प्रतिबद्धतालाई दोहोर्याए। उनले यस प्रवेशले नाम्चेबुङ क्षेत्रमा पार्टीको उपस्थितिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल