
गान्तोक, 28 मई (हि.स.)। सिक्किम पुलिसका महानिर्देशक (डीजीपी) अक्षय सचदेवले सिक्किम पुलिसलाई प्राप्त भएको राष्ट्रपतिको पुलिस कलर सिक्किम पुलिसमा कार्यरत कर्मचारीहरूका साथै सेवानिवृत्त कर्मचारीहरूलाई समर्पित गरेका छन्। राजधानीको पाल्जोर स्टेडियममा बिहिवार आयोजित एक भव्य अलङ्करण समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूको बाहुलीद्वारा सिक्किम पुलिसलाई राष्ट्रपतिको पुलिस कलर प्रदान गरियो।
सिक्किम पुलिसका महानिर्देशक अक्षय सचदेवले आजको सिक्किम पुलिसको निम्ति हर्ष र उल्लासको दिन रहेको बताए। उनले राष्ट्रपतिको पुलिस कलर पुरस्कार सिक्किम पुलिसका वर्तमान र सेवानिवृत्त कर्मचारीहरूलाई समर्पित गरे। उनले पुलिस कर्मीहरूको विगत दुई-तीन दशकको अथक सेवाको परिणाम स्वरुप आज सिक्किम पुलिस प्रतिष्ठित राष्ट्रपतिको पुलिस कलरले सम्मानित भइरहेको बताए।
उनले सिक्किम पुलिसलाई यो पुरस्कार कानुन व्यवस्था, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सिक्किम पुलिसको आधुनिकीकरण र नवीनीकरणको क्षेत्रमा उल्लेखनीय कार्यको निम्ति प्रदान गरिएको अवगत गराए। सिक्किम पुलिसलाई समर्थन गर्ने सिक्किमका जनताको मनोवृत्तिका कारण पनि यो पुरस्कार प्राप्त भएको हो भन्दै उनले यो पुरस्कार सिक्किमका जनतालाई पनि समर्पित गरे।
पुलिस महानिर्देशक सचदेवले यो पुरस्कार प्राप्त भएपछि पुलिस बल अझ बढी जनताको सेवा गर्न लागिपर्ने बताए। उनले सिक्किम पुलिसको मोटो नै 'सेवा अनि सुरक्षा' भएको उल्लेख गर्दै सिक्किम पुलिसका जवानहरूलाई यो पुरस्कार प्राप्त भएपछि अझ कम्मर कसेर जनताको सेवामा लाग्न आह्वान गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङलाई पनि धन्यवाद दिॅंदै उनको मार्गदर्शन र प्रेरणामा सिक्किम पुलिसले हरेक क्षेत्रमा प्रगति गरिरहेको बताए।
हिन्दुस्थान समाचार / बिशाल