मुख्यमन्त्रीले ओपन रोड वान्डरर्स मोटरसाइकल क्लबका सदस्यहरूसँग भेट गरे
Open road wanderers motorcycle club


गान्तोक, 31 मई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज ओपन रोड वान्डरर्स मोटरसाइकल क्लबका सदस्यहरूसँग मिन्तोकगाङमा शिष्टाचार भेट गरे। क्लबका सदस्यहरूले आगामी १६औँ नर्थइस्ट राइडर्स मिट आयोजनलाई लिएर मुख्यमन्त्रीसँग भेट गरेका थिए।

मुख्यमन्त्रीले सामाजिक सञ्जाल फेसबुक पोस्टमा ओपन रोड वान्डरर्स मोटरसाइकल क्लबका सदस्यहरूसँग भेट भएको जानकारी गराउँदै १६औँ नर्थइस्ट राइडर्स मिटका लागि शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले नाम्ची जिल्लामा आयोजना हुन गइरहेको १६औँ नर्थइस्ट राइडर्स मिटमा उत्तरपूर्वी क्षेत्रका विभिन्न राज्यहरू लगायत छिमेकी राष्ट्रहरू भुटान र नेपाल तथा अन्य विभिन्न देशहरूबाट ५,००० भन्दा बढी राइडर्सहरूका साथै सहभागीहरुले भाग लिने भएको खबरले अत्यन्त हर्षित बनाएको बताएका छन्। यस प्रकारको विशाल जमघटले मोटरसाइकल पर्यटनको बढ्दो लोकप्रियता र सीमाभन्दा परको मित्रता तथा भाइचाराको भावनालाई प्रतिबिम्बित गर्दछ।

सिक्किमको यात्राका क्रममा सहभागीहरूले राज्यको मनमोहक प्राकृतिक सौन्दर्य, विविध भौगोलिक परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा तथा रमणीय मोटरसाइकल मार्गहरूको अनुभव लिन र यसको प्रशंसा गर्ने अवसर प्राप्त गर्ने उनले उल्लेख गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande