
दार्जिलिङ, 08 मई (हि.स.)। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रिय कार्यालयमा पार्टी अध्यक्ष मन घिसिङसँग विभिन्न समष्टि तथा शाखाबाट आएका नेता, कार्यकर्ता र आन्दोलनकारी योद्धाहरूको भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम निरन्तर जारी रहेको छ। यसै क्रममा रेलिङ–कैंजले समष्टि तथा पूलबजार बिजनबारी गोक समष्टिबाट केन्द्रिय सदस्य आरसी गरूङ र दार्जिलिङ ब्रान्च अध्यक्ष गाईस सुब्बाको नेतृत्वमा लामा गाउँका १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा अग्रपंक्तिमा रहेर संघर्ष गर्ने आन्दोलनकारी योद्धाहरूले अध्यक्ष मन घिसिङसँग आत्मीय भेटघाट गरेका छन्।
उक्त अवसरमा अध्यक्ष मन घिसिङले आन्दोलनकारी योद्धाहरूलाई खादा तथा माला लगाई सम्मान व्यक्त गरे। त्यसै गरी बिजनबारी चैयन पूरेबाट उपस्थित गोरामुमो प्रतिनिधिहरूले पनि अध्यक्ष मन घिसिङलाई खादा लगाई सम्मान तथा बधाई ज्ञापन गरे। कार्यक्रममा भाजपा एनडीए गठबन्धनले दार्जिलिङ, खरसाङ, कालेबुङ, तराई तथा पश्चिम बङ्गाल राज्यभरि भारी मतले विजय हासिल गरेकोमा खुशी व्यक्त गर्दै गोरामुमोले विगतदेखि गर्दै आएको संघर्षले गोर्खा जाति र गोर्खा भूमिले अवश्य न्याय पाउनेछ भन्ने विश्वास व्यक्त गरिएको थियो।
यसैबीच खरसाङ ब्रान्च अन्तर्गत पर्ने पङ्खाबारीबाट अनिल लामाको अगुवाइमा आएका कार्यकर्ताहरूले पनि अध्यक्ष मन घिसिङसँग भेटघाट गर्दै संगठनको वर्तमान गतिविधि, जनसमस्याहरू तथा आगामी कार्यक्रमबारे विस्तृत छलफल गरेका छन्। भेटघाटका क्रममा अध्यक्ष घिसिङले संगठनलाई अझ सशक्त, संगठित र एकताबद्ध रूपमा अघि बढाउन सबै कार्यकर्तालाई आह्वान गरे।
दार्जिलिङ ब्रान्च कमिटी अन्तर्गत फूबछिरिङ पान्दाम समष्टि तथा लेबोङ बदमताम समष्टिबाट अध्यक्ष गणेश सहासहकरको नेतृत्वमा आएको टोलीले पनि अध्यक्ष मन घिसिङसँग भेटघाट गर्दै बधाई तथा शुभकामना व्यक्त गरे। गोरामुमो केन्द्रिय कार्यालयमा जारी यस्ता भेटघाट कार्यक्रमले पार्टी संगठनलाई थप मजबुत बनाउने तथा कार्यकर्ताहरूबीच नयाँ उत्साह र एकताको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक