खरसाङ नगरपालिकाको बोर्ड खारेज गर्नुपर्ने माग गर्दै गोजमुमोद्वारा महकुमा शासकलाई ज्ञापन पत्र
खरसाङ नगरपालिकाको बोर्ड खारेज गर्ने माग लगायत विभिन्न भ्रष्टाचारको विरोधमा गोजमुमोद्वारा महकुमा शासकलाई ज्ञापन पत्र


खरसाङ, 08 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चाद्वारा बंगाल सरकारले गैर कानुनी रुपमा नियुक्त गरिएको खरसाङ नगरपालिकाको बोर्ड खारेज गर्नु पर्ने मागसहित विभिन्न विषयहरुमा खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाइएको छ। खरसाङ नगरपालिकाको बोर्ड खारेज गरिनु पर्ने र खरसाङ महकुमा शासकले चार्ज लिनुपर्ने माग राखिएको छ।

यसका साथै, उक्त ज्ञापन पत्रमा खरसाङ नगरपालिका क्षेत्रमा भएका भ्रष्टाचारहरूको जाँच गरेर कारबाही गरिनु पर्ने, नगरपालिका क्षेत्रमा गैर कानुनी रुपमा निर्माण भएका दोकानहरुको जॉंच हुनुपर्ने आदि माग गरिएका छन्। यसरी नै नगरपालिका क्षेत्रमा अवकाशप्राप्त कर्मचारीहरुले पीएफ, ग्रेच्युटी, पेन्शन झट्टै पाउनु पर्ने अनि यसमाथि भएको भ्रष्टाचारको सही जाँच गरेर दोषीहरुमाथि कानुनी कारबाही गरिनु पर्ने माग पनि गरिएको छ।

उक्त ज्ञापन पत्र बुझाउन अघि गोर्खा जनमुक्ति मोर्चाको टोलीले खरसाङको मोटर स्ट्याण्डबाट एउटा ऱ्यालीको साथमा खरसाङ महकुमा शासकको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको थियो। खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाउने गोर्खा जनमुक्ति मोर्चाको टोलीमा केन्द्री सह सचिव बिमल दर्जी, प्रदीप प्रधान, खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राई, सचिव रोहित स्याङ्बो, नारी मोर्चा महकुमा सभापति शान्ति राई, युवा मोर्चाको खरसाङ महकुमा समितिको सभापति सत्यवान् छेत्री आदि उपस्थित रहेका थिए।

ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुसित कुराकानी गर्दै गोजमुमो खरसाङ महकुमा समितिका सभापति एवं पूर्व सभासद योगेन्द्र राईले भने, गैर कानुनी रुपमा नियुक्त गरिएको खरसाङ नगरपालिकाको बोर्ड खारेज गर्नुपर्ने मागसहित विभिन्न विषयहरुमा खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाएका छौं। गैर कानुनी रुपमा नियुक्त गरिएका चेयरम्यान र भाइस चेयरम्यानलाई तत्काल हटाउनु पर्छ। नगरपालिकाको जिम्मा खरसाङ महकुमा शासकले लिनुपर्छ।

योगेन्द्र राईले अघि भने, कुनै विज्ञापनबिना नै खरसाङको सुपर मार्केटका दोकानहरु बिक्री गरिएका छन्, यसमा धेरै घोटाला भएको छ। डस्टबीनहरु पनि विभिन्न मानिसहरुलाई बिक्री गरिएको छ। कानुनी रुपमा बिल्डिङहरु बनिएका छन्। यी सबैमाथि झट्ट जाँच हुनुपर्छ र दोषीहरुलाई कडा कारबाही गरेर जेल पठाउनुपर्छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande