
खरसाङ, 09 मई (हि.स.)। खरसाङकी वरिष्ठ स्रष्टा एवं आकाशवाणी खरसाङकी पूर्व वरिष्ठ उदघोषिका छिमी ओङ्मु लामालाई साहित्यमा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ। दक्षिण सिक्किमको नाम्चीमा रहेको डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको नवौं दीक्षान्त समारोहमा उनलाई उक्त मानार्थ डाक्टरेटको उपाधिले सम्मान जनाइएको छ।
यस अवसरमा उनलाई डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको कूलपति डा एमके राईको बाहुलीबाट उक्त मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरियो। उनीसितै साहित्यमा सिलगढीका मुक्तिप्रसाद उपाध्याय, सम्पादक वीरभद्र कार्कीढोलीलाई अनि नाम्ची निवासी अनु नैवेद्य राईलाई पनि शिक्षामा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित गरिएको छ।
साहित्यमा मानार्थ डाक्टरेटको उपाधिले सम्मानित भएपछि छिमी ओङ्मु लामाले यस अवसरको लागि डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको कूलपति डा एमके राई लगायत टिमलाई नै धन्यवाद दिएकी छन्। यस डिभाइन थियोलोजिकल ओपेन युनिभर्सिटीको नवौं दीक्षान्त समारोहमा प्रमुख अतिथिको रुपमा सिक्किम सरकारको शहरी विकास तथा खाद्य आपूर्ति विभागका मन्त्री भोजराज राई उपस्थित रहेका थिए।
कार्यक्रममा वक्ताको रूपमा नागाल्याण्डबाट उपस्थित डा किपफेली अंगामी, प्रमुख अतिथिको रूपमा उपस्थित मन्त्री भोजराज राई र कूलपति डा एमके राईले वक्तव्य राखेका थिए।
उल्लेखनीय छिमी ओङ्मु लामा खरसाङकी वरिष्ठ नारी स्रष्टा हुन्। उनको कथा सङ्ग्रह 'एक मुक्त मुनाल' प्रथम संस्करण 2012 अनि दोस्रो संस्करण 2021 मा प्रकाशित छन्। त्यसरी नै उनको उपन्यास कृति 'निशा मिलन' 2025 मा प्रकाशित छन्। उनको छोटो कथाहरु पनि धेरै प्रकाशित छन् भने रेडियो नाटक 'यस्तै छ हाम्रो जीवन' पनि प्रकाशित छन्। छिमी ओङ्मु लामा एकजना रंगमञ्च र रेडियो नाटककर्मी पनि हुन्।
उनले रंगमञ्चमा र रेडियोमा धेरै नाटकहरुमा अभिनय पनि गरेकी छन्। उनले सन् 1962 देखि 1982 सम्म आकाशवाणी खरसाङमा, सन् 1982 देखि 1987 सम्म आकाशवाणी गान्तोकमा र 1987 देखि 2006 सम्म आकाशवाणी खरसाङमा वरिष्ठ उदघोषिकाको रुपमा कार्य गरेर अवकाशप्राप्त भएकी हुन्।
आकाशवाणी खरसाङमा साहित्यकार शिवकुमार राईसित 'शम्भु राईको हुलाक' नामक प्रसिद्ध कार्यक्रममा शोभा बहिनीको रुपमा कार्य निक्कै चर्चित छन्। राईको उनको पहिलो कथा सङ्ग्रह 'एक मुक्त मुनाल' मा रहेको एउटा कथा 'अतितका बालुवामा पद छापहरु' लाई फिल्म निर्देशक विवेक राईले 'शान्ति' नामक फिल्म बनाएका थिए जसले सर्बियाको कस्टर्न वर्कमा आयोजित अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दोस्रो पुरस्कार सिल्भर एग प्राप्त गरेको थियो।
हिन्दुस्थान समाचार / हनोक