साहित्य परिषद्ले 'बाघको दूध-3' लोकार्पण गर्ने
नेपाली साहित्य परिषद् सिक्किम


गान्तोक, 09 मई (हि.स.)। नेपाली साहित्य परिषद् सिक्किमले आगामी 23 मई, 2026 को दिन सिक्किमेली लेखक एवम् साहित्यकार चक्रपाणि भट्टराईद्वारा लिखित कृति ‘बाघको दूध -3’ को लोकार्पण गर्ने निर्णय लिएको छ। गान्तोकको जीवन थिङ मार्गस्थित साहित्य परिषद् भवनमा आयोजना हुने समारोहमा पुस्तकमाथि लेखक-साहित्यकारहरूद्वारा विमर्श गरिने कार्यक्रम रहेको छ।

शुक्रवार अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा बसेको परिषद्को कार्यकारी समितिको एउटा बैठकले यस्तो निर्णय लिएको हो। परिषद्का गतिविधिलाई तिव्रता दिन बैठकले केही महत्त्वपूर्ण निर्णयहरू पनि लिएको छ, जसमध्ये चाँडै सिक्किमेली प्रसिद्ध साहित्यकारद्वारा लेखिएका नेपाली भाषाका कृतिलाई अन्य भाषामा अनुवाद गरिनेछ।

यसैगरी गाउँका बाल तथा किशोर समूहका कलमकार एवम् कलाकारहरूलाई साहित्य लेखन तथा कला क्षेत्रमा प्रोत्साहित गर्न विभिन्न जिल्लामा साहित्य कला सङ्गम कार्यक्रम आयोजन गरिनेछ। परिषद्ले चाँडै आफ्नो साहित्यिक पत्रिका ‘कनका’ को पनि प्रकाशन गर्ने निर्णय लिएको छ। यसको सम्पादनको जिम्मेवारी साहित्य सचिव तुलसी घिमिरेलाई सुम्पिएको छ।

यसरी नै परिषद्ले विभिन्न कार्यक्रममार्फत लोक साहित्यलाई जीवित सांस्कृतिक सम्पदाका रूपमा नयाँ पुस्तासँग जोड्ने दिशामा पनि कार्य गर्ने निर्णय लिएको छ। यसै अवसरमा हालै पदोन्नति भई सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागमा संयुक्त निर्देशकको जिम्मेवारी ग्रहण गरेका जीएस लिम्बूलाई पनि परिषद्ले बधाई चढायो। लिम्बू नेपाली साहित्य. परिषद सिक्किमका कोषाध्यक्ष हुन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande