सिक्किम अकादेमीको कार्यकारी बोर्ड र साधरण परिषदको बैठक सम्पन्न, विभिन्न कार्ययोजनाको अनुमोदन
सिक्किम अकादेमीको कार्यकारी बोर्ड


गान्तोक, 11 जून (हि.स.)। सिक्किम अकादेमीको 50औँ कार्यकारी बोर्ड तथा 7औँ साधरण परिषदको बैठकले आगामी दिनमा गर्ने विभिन्न कार्ययोजनाको फाँटवारी तयार पार्दै अनुमोदन गरेको छ। अकादेमीका अध्यक्ष प्रवीण राई जुमेलीको अध्यक्षतामा बसेको बैठकले पछिल्लो दिनमा गरेका कार्यक्रमहरूको समीक्षासितै पश्चात् स्वीकृति गरेको छ।

बैठकले अनुवादक मन्दिप लामाले अनुवाद गरेको प्रख्यात साहित्यकार इन्द्रबहादुर राईको कठपुतलीको मन (द पपेट्स माइन्ड) को प्रकाशन र माटो कवि जीवन थिङका समग्र कृतिको सङ्गालो साङ्ग्लोभित्र बाँधिएका घोड़ाका टापहरूको दोस्रो संस्करण प्रकाशित गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।

अकादेमीले प्रकाशित गर्ने पुस्तकहरूको छपाइको गुणस्तरलाई ध्यानमा राखेर थमसन प्रेस भारतलाई आधिकारिक छापाखानाको रूपमा प्रयोग गर्ने प्रस्तावलाई पनि बैठकले अनुमोदन गरेको छ। यसैगरी, सभाले सिक्किम अकादेमीको एक सम्पादक रूपमा डा. कृष्ण सापकोटालाई नियुक्त गरिएको निर्णयलाई पनि अनुमोदन गरेको छ।

बैठकले आगामी कार्यक्रमहरूको रूपरेखामाथि चर्चा गर्दै अकादेमीले वार्षिक रूपमा प्रदान गर्दै आएको अकादेमी अवार्ड 2026 सङ्गीत विधामा दिने निर्णय गरेको छ। यसरी नै वार्षिक कार्यक्रम पदमसिंह सुब्बा अपतन व्याख्यान आगामी सेप्टेम्बर महिनामा गरिने तथा माटो कवि जीवन थिङ कविता उत्सव 2026 को निम्ति पनि तयारी गरिने निर्णय गरेको छ।

अकादेमीको कार्यालयमा आवश्यक साउन्ड सिस्टम र प्रोजेक्टर खरिद गर्नको निम्ति आवश्यक धनराशिलाई पनि बैठकले अनुमोदन गरेको अकादेमीले जारी गरेको प्रेस बयानमा बताएको छ। साहित्य अकादेमी, नेशनल बुक ट्रस्ट र ललितकला अकादेमी नयाँ दिल्लीसित समन्वय स्थापित गर्ने तथा नामग्याल इन्स्टिट्युट अफ टिबेटोलोजीद्वारा प्रकाशित एउटा जर्नलको अनुवाद गर्ने पनि बैठकले निर्णय गरेको छ।

बैठकमा अकादेमीका उपाध्यक्ष एसटी ग्याछो भोटिया, प्रशासनिक सचिव पीएल शर्मा, साहित्य तथा भाषा सचिव प्रद्युम्न श्रेष्ठ तथा कार्यकारी बोर्ड सन्तोष कुमार आले, एडी छेत्री, टोम छिरिङ लेप्चा, वित्तीय सल्लाहकार खुश्बु सुब्बा, छुलछिम ग्याछो र परिषदका सदस्यहरू को उपस्थिति रहेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande