
जोरहाट, 13 जून (हि.स.)। भारतीय वायुसेना (आईएएफ) को एक एएन-32 परिवहन विमान शुक्रवार असमको जोरहाटको रौरिया एयर फोर्स स्टेशनमा दुर्घटनाग्रस्त भएको छ। प्रारम्भिक जानकारी अनुसार, अवतरणका क्रममा विमान दुर्घटनामा परेको थियो, त्यसपछि आगो लाग्यो।
प्रत्यक्षदर्शी अनुसार, दुर्घटनापछि एयरबेस क्षेत्रमा आगो र बाक्लो धुवाँ देखियो। दुर्घटनाग्रस्त विमान वायुसेनाको 43 स्क्वाड्रनको रहेको र नियमित सैन्य उड़ानमा रहेको बताइएको छ। यो विमान सैन्य सामग्री र रसद ढुवानी गर्न प्रयोग गरिन्छ।
सूत्रहरू अनुसार, विमान निर्धारित रनवेमा सुरक्षित अवतरण हुन नसकेर एयरबेसको घाँसे र कच्चा भागमा अवतरण भयो। अवतरणका क्रममा ठूलो विष्फोट भएपछि विमानमा आगो लाग्यो र दुई भागमा टुक्रियो।
दुर्घटना लगत्तै एयरबेसमा उपस्थित दमकल र आपातकालीन बचाउ टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लियो। प्रशासन र सुरक्षा निकायले राहत र उद्धार कार्य शुरू गरेका छन्।
भारतीय वायुसेनाले घटनाको पुष्टि गर्दै एएन–32 विमान जोरहाटमा दुर्घटना भएको जानकारी गराएको छ। वायुसेनाले यस विषयमा अनुसन्धान भइरहेको र विस्तृत जानकारी आएपछि साझा गरिने बताएको छ।
हाल विमानमा रहेका चालक दल र अन्य सैनिकको अवस्थाबारे आधिकारिक जानकारी आएको छैन। दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान शुरु गरिएको छ।
यो उल्लेखनीय छ कि जोरहाट स्थित रौरिया एयरफोर्स स्टेशन उत्तर-पूर्वी भारतमा भारतीय वायु सेनाको एक महत्वपूर्ण सैन्य बेस हो, जसले क्षेत्रमा हवाई संचालन, सैन्य रसद आपूर्ति र रणनीतिक गतिविधिहरु सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छ।
हिन्दुस्थान समाचार / भवानी थामी