
बहराइच, 13 जून (हि.स.)। भ्रष्टाचार विरुद्ध कारबाही गर्दै सीबीआईको ट्रयाप टोलीले शुक्रवार साँझ इन्डियन बैंकको गुरघुट्टा शाखाका प्रबन्धक सहित दुई जनालाई पक्राउ गरेको छ। यो बैंकको शाखा नानपारा कोतवाली क्षेत्रको गुरुघुट्टामा अवस्थित छ। दुवै अभियुक्तलाई शनिवार लखनउको विशेष सीबीआई अदालतमा पेश गरिनेछ।
बैंकका प्रबन्धक ललित मोहनले किसान क्रेडिट कार्ड बनाइदिने नाममा एक किसानसँग घुस मागेका थिए। बैंकका शाखा प्रबन्धक ललित मोहन र उनका निजी कर्मचारी मनोजले पहिले किसानसँग 10 हजार रूपियाँ मागेको, पछि पाँच हजार रुपियाँमा कुरा मिलाएको आरोप छ। यहाँ किसानको उजुरीको आधारमा सीबीआई ट्र्याप टोलीले कारबाही गरी दुवैलाई रंगेहात पक्राउ गरेको छ।
छापा मार्ने क्रममा सीबीआई टोलीले घटनास्थलबाट बैंकका शाखा प्रबन्धक ललित मोहन र उनका निजी कर्मचारी मनोजलाई हिरासतमा लियो। टोलीले दुवैलाई सोधपुछका लागि लखनउ लगेको छ, जहाँ उनीहरुसँग विस्तृत सोधपुछ भइरहेको छ।
कारबाहीको क्रममा सुरक्षाको कारण देखाउँदै बैंकका शाखा अस्थायी रूपमा बन्द गरी आवतजावतमा रोक लगाइएको थियो। अकस्मात यस्तो कारबाहीले बैंकका कर्मचारीमा त्रासको वातावरण छ।
सीबीआईले अहिले यो घटनामा थप व्यक्तिको संलग्नता छ कि छैन भनेर पनि अनुसन्धान गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी